तराई मधेश जागरण अभियानको तयारीमा जुट्न अध्यक्ष प्रचण्डको निर्देशन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले सुरु गर्न थालेको तराई मधेश जागरण अभियानको तयारीमा जुट्न मधेश प्रदेशका नेताहरूलाई निर्देशन दिनुभएको छ।
मधेशमा माओवादी पार्टी बलियो रहेको बताउनुभएको छ।

माओवादी केन्द्र मधेश प्रदेशमा कार्यरत केन्द्रीय तहका सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो।पार्टीले जनतासँग माओवादी तराई मधेश जागरण अभियान सुरु गर्न थालेको जानकारी दिँदै उहाँले फागुन १२ गतेदेखि सुरु हुने यो अभियान सफल हुँदा मधेशमा राम्रो आधार हुने बताउनुभयो ।
झापाबाट सुरु गरेर कन्चनपुरमा हुलाकी मार्ग केन्द्रित अभियान सकेपछि पहाड र हिमाली क्षेत्रलाई केन्द्रित गरेर मध्यपहाडी लोकमार्ग केन्द्रित पूर्वपश्चिम् जागरण अभियान सञ्चालन गरिने जानकारी दिदै अध्यक्ष प्रचण्डले दुबै अभियान सकिएपछि काठमाडौमा देशभरिको पहिचान झल्कने गरी भव्य प्रदर्शन र सभा गर्ने बताउनुभयो । अहिले विभिन्न जाति समुदायको अधिकार खोज्ने प्रयास भइरहेको उल्लेख गर्दै उहाँले यी तीन वटै अभियान पूरा हुँदा नयाँ राष्ट्रिय एकता पैदा हुने र जनताको अधिकार खोस्न चाहने तत्वहरु पराजित हुने विश्लेषण सुनाउनुभयो।

अभियानपछि केन्द्रीय समिति बैठक बसेर महाधिवेशनको तयारीमा लाग्ने पछिल्लो केन्द्रीय समितिको बैठकको निर्णय स्मरण गराउँदै अध्यक्ष प्रचण्डले अब नेतृत्व चुनावबाटै निर्वाचित हुने भएकाले सबैलाई कार्यकर्ता र जनतासँग जोडिएर काम गर्न पनि निर्देशन दिनुभयो।

पहिले मधेशमा माओवादी पहिलो पार्टीको रुपमा रहेको र अहिले पनि नेता कार्यकर्ताको संख्या तथा जनमतका हिसाबले बलियो रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सबै नेता कार्यकर्ताबीच बलियो एकता कायम गर्न सके फेरि पहिलो पार्टी बन्ने विश्वास व्यक्त गर्नुभयो।

सम्बन्धित समाचार