हामी सत्ताको खेलमा छैनौं, जनतामा फर्किसक्यौं : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी सत्ताको खेलमा नरहेको जिकिर गरेका छन्।

प्रतिनिधिसभा बैठकमा बिहीबार सम्बोधन गर्दै प्रचण्डले आफूहरू जनतामाझ गइसकेको बताए। उनले कांग्रेस–एमालेसँग टाँसिँदा लागेको धुलो टकटक्याउँदै जनतामा फर्किएको टिप्पणी गरे।

‘हामी अब तपाईंहरूको सत्ताको खेलमा छैनौं। मैले आवेग वा उत्तेजनामा भनेको होइन। इतिहासको अनुभवबाट शिक्षा लिएर भनेको हो।’ प्रचण्डले भने, ‘हामी जनतातिर फर्किसक्यौं। सहिदका सपना पूरा गर्नेतर्फ फर्किसक्यौं।’

उनले यो सरकार आफूले ढाल्छु नभनेको पनि प्रष्टीकरण दिए।

‘यो सरकार अप्राकृतिक छ। आफ्नै बोझले ढल्छ भन्दै आएको छु।  मैले सरकार ढाल्छु भनेको छैन।’ प्रचण्डले थपे, ‘तपाईंहरु विश्वस्त हुनुहुन्छ भने प्रधानमन्त्रीजीले किन सत्ता हस्तान्तरणको राग बारम्बार अलापिरहनुभएको छ? शेरबहादुरजीका कान र आँखा तगडा छन् धेरै भनिराख्न पर्दैन।’

उनले कांग्रेस एमाले ८४ सम्म मात्र होइन त्यसपछि पनि सँगै जान आग्रह गरे। आफूहरू आफ्नै सामर्थ्यमा सरकार बनाउन दृढ रहेको पनि उनले बताए।

 

सम्बन्धित समाचार