३४ औ जेष्ठ नागरिक दिवस:राज्य र घर परिवारले सम्मान,स्याहार गर्न आबश्यक


जुम्ला :जुम्लामा ३४ औ ज्येष्ठ नागरिक दिवस जुम्लामा पनी विभिन्न कार्यक्रम गरि मनाईएको छ । जिल्ला ज्येष्ठ नागरिक संघ जुम्लाको आयोजनामा जुम्ला सदरमुकाममा दिवस मनाईएको हो ।
उक्त कार्यक्रमा बोल्दै जेष्ठ नागरिकलाई घरपरिवारले सम्मान स्याहार हेरचाह गर्न जरुरी रहेको पुर्व पर्यटन, सस्कृति तथा राज्यमन्त्री वलबहादुर महतले बताए । उनले आआफ्नो समाजको परम्परागत तथा सांस्कृतिक मूल्य र मान्यता अनुसार आफ्ना परिवार र समुदायबाट समुचित हेरविचार र संरक्षणको सुविधा पाउनु पर्ने बताए ।उनका अनुसार प्रधानमन्त्री मनमोहन अधिकारीको पालमा ज्येष्ठ नागरिक सामाजिक सुरक्षाभत्ता शुरुवात गरिएको बताए ।

त्यस्तै चन्दननाथ नगरपालिकाका कार्यवाहक मेयर रामदेवी खड्काले ज्येष्ठ नागरिकका हक, अधिकारबारे जनचेतना अभिवृद्धि गर्नु यस दिवसको मुख्य उद्देश्य बताइन । ज्येष्ठ नागरिक संघलाई सवैको सहयोग आवश्यक रहेको बताइन । नगरपालिकाले गत बर्ष रु २० लाख फार्मेसीका लागि सहयोग गरिएको बताइन । उनले आरोग्य सेवाका लागि पनि संरचना आवश्यक भएकाले नगरपालिकाले सहयोग गर्ने बताइन।


त्यस्तै चन्दननाथ नगरपालिका वडा नम्बर ५ का अध्यक्ष विर्खबहादुर कार्कीले यस दिनले ज्येष्ठ नागरिकका अधिकारको आवश्यकताबारे सर्वसाधारणमा जनचेतना फैलाउने कामलाई निरन्तरता दिने भएकाले पनि यसको ठुलो महत्व रहेको बताए  ।उनका अनुसार यो दिनलाई जेष्ठनागरिकहरुको स्वतन्त्रता, सहभागिता, स्याहार, आत्मपरिपूर्ति र सम्मानसँग सम्बन्धित जनचेतना अभिवृद्धि गर्ने प्रमुख दिनका रूपमा पनि लिने गरेको पाइन्छ । उनले ज्येष्ठ नागरिका लागि संरचनामा वडापािलकाले आवश्यक सहयोग गर्ने बताए । चन्दननाथमा योग साधनका केन्द्रले मान्छेलाई निरोगी बनाउने हुदा यस्ता कार्यलाई जोड दिने उनको भनाइछ ।

त्यस्तै जिल्ला ज्येष्ठ नागरिक संघ जुम्लाका अध्यक्ष तिर्थराज भारतीले जेष्ठ नागरिकको सम्मान अन्तर्गत पहिलो बुँदामा ज्येष्ठ नागरिक शारीरिक एवं मानसिक शोषणबाट मुक्त भई स्वतन्त्रतापूर्वक सम्मानजनक र सुरक्षित जीवन बाँच्न पाउनु पर्छ भन्ने अधिकार स्थापित गरेको बताए ।उनले ज्येष्ठ नागरिकले गरेका उत्पादनशील, सामाजिक, आर्थिक कार्यबाट राष्ट्रले प्राप्त गरेका योगदानका आधारमा उनीहरूको कदर गर्नका लागी सबैलाई अनुरोध गरे ।

त्यस्तै जेष्ठ नागरिक भवानी प्रसाद न्यौपानेले ज्येष्ठ नागरिकले यातायातमा पाउने सिट र छुटको सुविधा अहिले सम्म हुन पाउन नसकेको बताए ।उनका अनुसार कानुनमा ब्यवस्था भएको कुराहरु कार्यान्वयमा आउन नसकेकाले कतिपय जेष्ठ नगारिकहरु रोगको सिकार बताए ।जेष्ठ नागरिकको लागी बनेको ऐनमा आफ्ना शारीरिक, मानसिक र संवेगात्मक स्थितिलाई क्रियाशील राख्न हेरविचारको सुविधा पाउनु पर्छ भन्ने अधिकारको कुरा समेटिएको छ । तर त्यो नियम कागजमै सिमित रहेको उनको गुनासो छ ।कार्यक्रममा झण्डै एक सय बढि ज्येष्ठ नागरिकहरुको सहभागिता रहेका र उहाँहरुले हर्लिक्स वितरण गरिएको थियो ।

सम्बन्धित समाचार