काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस-एमालेले भनेजस्तो संविधान संशोधन नै गर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुपर्ने प्रस्ताव गरेका छन्।
शुक्रबार संसदमा विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्दै प्रचण्डले यस्तो प्रस्ताव गरेका हुन्।
‘संविधान संशोधन नै गर्ने हो भने आउनुस् खुला छलफल गरौं’, उनले भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔँ।’
माओवादीलाई किनारा लगाएर संविधान संशोधन जस्तो जटिल र संवेदनशील विषयमा खेलाँची नगर्न कांग्रेस एमालेलाई प्रचण्डले चेतावनी दिए।
‘निराधार आरोप लगाएर कांग्रेस एमाले रहस्यमय तरिकाले एक ठाउँमा उभिनुभएको छ। स्थायित्वको नारा दिनुभएको छ, संविधानको संशोधनको छिर्के हान्नुभएको छ’, उनले भने, गरे, ‘संविधान संशोधन जस्तो जटिल संवेदनशील विषयमा खेलाँची नगर्नुहोला। राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल माओवादीलाई किराना लगाएर संविधान संशोधन गर्नुहुन्छ ?’
प्रचण्डले संविधानको आत्माको रुपमा रहेको समानुपातिक समावेशीतालाई खोसेर पश्चगमनतर्फ फर्काउन खोजेको आरोप लगाए।
उनले भने, ‘कतै तपाईँहरू स्थिरताका नाममा समावेशी प्रतिनिधित्व समाप्त पार्न खोजेको गन्ध आएको छ। अस्थिरताको कारण देखाएर समानुपातिक समावेशी प्रतिनिधित्व समाप्त गर्न खोजेको स्पष्ट देखिन्छ।’