एमालेसँगको बिदाइमा भावुक बन्यो बालुवाटार, प्रचण्डले गाए फत्तेमानको गीत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एमालेले सत्ता सहयात्रा टुंग्याएको छ। नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिकोे सरकार बनाउने समझदारी गरेको एमालेले बुधबार बेलुकी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको हो।

समर्थन फिर्तासँगै एमालेबाट मन्त्री बनेका ८ जनाले पनि सामूहिक राजीनामा दिएका छन्।

राजीनामा बुझाउन बालुवाटार पुगेका कानुनमन्त्री पदम गिरीका अनुसार, केहीबेर त्यहाँको माहोल भावुक बन्यो। प्रचण्डले गायक फत्तेमान राजभण्डारीको गीतका केही हरफ सुनाए।

एउटा मात्रै कुरा भन्छु’ भन्दै प्रधानमन्त्रीले ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले, कसैलाई माया गर्नु एउटा भूल गरेँ मैले’ बोलको गीत गाएका थिए।
एमालेको मंगलबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन आग्रह गरेको थियो।

प्रधानमन्त्रीले राजीनामा नगरेपछि एमालेले मन्त्री फिर्ता बोलाउने र समर्थन पनि कायम नराख्ने निर्णय लिएको हो। एमालेको यो निर्णयलगत्तै प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका छन्।

गत सोमबार मध्यराति नेपाली कांग्रेससँग सत्ता सहयात्राका लागि एमालेले सहमति गरेको थियो।

एमाले र कांग्रेसले नयाँ सरकार गठनको तयारी गरे पनि प्रधानमन्त्रीले विश्वासको मत लिने भनेका छन्।

सत्ता साझेदार दलले साथ छाडे ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

सम्बन्धित समाचार