चार दिनपछि खुल्यो कर्णाली राजमार्ग

अबिरल बर्षा संगै गएको पहिरोका कारण बन्द कर्णाली राजमार्ग पाँच दिनपछि खुलेको छ । बर्षाले कर्णाली राजमार्गको कालिकोट खण्डमा दर्जनौ स्थानमा पहिरो गएको थियो । सडक डिभिजन कार्यालय जुम्ला र कालिकोट प्रहरीको सक्रियतामा कर्णाली राजमार्ग पुर्णरुपमा खुलेको डिएसपी श्यामबाबु ओलियाले जानकारी दिए । उनले भने,‘पहिरोले चार दिन सम्म कर्णाली सडक ठप्प बन्यो । सयौँ सवारीसाधन बीचैमा अलपत्र परे । यात्रुहरु हिडेर गन्तब्यमा पुगे । चारदिन पछि बल्ल सडक खुल्यो । अब सवारीसाधन सञ्चालन नियमित रुपमा सञ्चालनमा आउनेछन् ।’
निरन्तरको भारी वर्षासँगै शुभकालिका गाउँपालिका १ स्थित गगने खोला, काले खोला, जिते, शेरिघाट, मान्म, गल्ली, सिम्लेगाड लगायतका दर्जनौ ठाउँमा पहिरो खसेको थियो । कालिकोट र दैलेखको सिमाना दहीखोलादेखि जुम्ला कालिकोटको सिमाना नाग्मसम्म दर्जनौं ठाउँमा पहिरो खसेका कारण राजमार्ग ठप्प थियो । राजमार्ग पुर्ण रुपमा बन्द हुँदा बाटोमा खानेकुरा देखि बस्ने ठाउँ सम्मको सकस भोग्नु परिरहेको यात्रुहरु बताउँछन् । उनीहरुले बर्षा नभएपनि सुख्खा पहिरो खस्नाले यात्रा गर्न निकै जोखिम बढेको गुनासो गरेका हुन् ।
कर्णाली राजमार्गको दैहिखोला र एसमोडको बीचमा पर्ने गगने खोलामा ठूलो पहिरो खसेको थियो । डिभिजन सडक कार्यालय जुम्लाको डोजर कालिकोट जिल्ला सदरमुकाम मान्मदेखि दैलेखतिरको सडकमा पहिरो पन्छाउँदै गएपछि सडक खुलेको हो । गगने खोलामा निकै ठूलो चट्टाने पहिरो खस्यो । दैनिक रुपमा गगने खोलामा पहिरो खस्दा यातायात सेवा अवरुद्ध हुने गरेका छन । गगने खोलाको पहिरोका कारण कर्णाली राजमार्गमा संचालन हुने यात्रुबाहक तथा मालबाहक सवारी साधन र यात्रुहरुले निकै सास्ती खेप्नु परेको छ ।
यात्रुहरुले पहिरो क्षेत्रमा जोखिम मोल्दै हिडेर वारपार गर्ने गरेका थिए । कतिपय सवारी तथा यात्रु बाटोमै अलपत्र परेका् भेटिन्छन् । राजमार्ग अवरुद्ध हुदाँ जुम्लाबाट सवारी फेर्दै पाँच दिन लगाएर सुर्खेत पुगेका खगेन्द्र खत्रीले कोरोनाको त्रास फैलिएको बेला राजमार्गका कारण त्यहाँका होटलहरुले निकै महंगी बढाएको बताए । कालिकोटको तिलागुफा नगरपालिका ५,खाँडाचक्र नगरपालिकामा ५ र शुभकालिका गाउँपालिकामा चारपाँच वटा पहिरो गएको थियो । सडक डिभिजन कार्यालय जुम्लाको टोली सडक खुलाउन राजमार्गमा अहोरात्र खटिएको छ । दुई वटा जेसिभि राजमार्गमै राखेर काम गरिरहेको छ ।
कालिकोट प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलिया भन्छन्,‘ अहिले सडक पुर्णरुपमा खुलेको छ । तर पहिरो खस्ने नखस्ने एकिन छैन् । सामान्य बर्षा हुनेवित्तिकै पहिरो गइहाल्छ । ’ कर्णाली राजमार्गमा बर्षयाममा पहिरो र हिउँदमा धुलोले सताउने गर्छ ।