हुम्लामा जिप दुर्घटना: मृतक दुईको सनाखत

हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका-४ मा आज भएको सवारी दुर्घटनामा परी ज्यान गुमाएका दुई जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा अदानचुली गाउँपालिका-५, का अन्दाजी ३५ वर्षीय फागुने लोहार र १३ वर्षीय प्रवेश ऐडी रहेका छन्। जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी नरेन्द्र चन्दलेका अनुसार दुर्घटनामा ६ जना घाइते भएका छन्।

शनिबार अदानचुलीको श्रीनगरबाट वडा नम्बर-५, को बारीगाउँ जाँदै गरेको सु ००१ ज ११८३ नम्बरको बोलेरो जिप बेलुका करिब चार बजेतिर दुर्घटनामा परेको चन्दले जानकारी दिए।

जिप सडकभन्दा केही तल खसेको छ। घाइतेहरूलाई अस्पतालमा लैजाने काम भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

जिपमा सात जना सवार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार