आलोपालो प्रधानमन्त्रीबारे ओलीको टिप्पणी: धारामा पानी थाप्न लाइन बसे जस्तो हुँदैन

काठमाडौं । पाँचदलीय सत्ता गठबन्धनमा तीन नेताले आलोपालो प्रधानमन्त्री बन्ने भनी सहमति गरेको अनुमानलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खारेज गरेका छन् । उनले आलोपालो प्रधानमन्त्री बन्ने सहमति नभएको मात्रै भनेका छैनन् भविष्यमा पनि यस्तो खालको गलत संस्कार नस्वीकार्नेपनि प्रस्ट पारेका छन् ।

कांग्रेससँगको गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउँदा प्रचण्डसँग प्रधानमन्त्रीको आलोपालो गरेको भन्दै ओलीको आलोचना हुँदै आएको थियो ।

बिहीबार सामाजिक सञ्जालमा उनले राजनीतिमा आलोपालोको विषयले गलत सन्देश दिइरहेको औंल्याएका छन् । उनले राजनीतिमा धारामा पानी थाप्न लाइन बसे जस्तो नभएको जिकिर गरेका छन् ।

नयाँ गठबन्धनमा संघ तथा प्रदेशमा समेत आलोपालोको विषयले चर्चा पाइरहेको बेला उनको यो टिप्पणीले के सन्देश दिन खोजेको हो भन्ने अन्योल बनाएको छ ।

उनले लेखेका छन्ः

‘हाम्रो राजनीतिक वृत्तमा अराजनीतिक सोच यति बढेको छ कि नेतृत्वमा आलोपालो गरेर पद प्राप्त गर्ने कुरालाई पनि संस्कारको रुपमा लिन थालिएको छ । तर, राजनीति अहिले तपाईंको पालो त्यसपछि मेरो पालो, मेरोपछि उसको पालो भनेर धारामा पानी थाप्न लाइन बसे जस्तो होइन । नेतृत्व गर्ने कुरा योग्यता, क्षमता, सक्रियता, बुझाइ र इमानदारीमा भर पर्छ । यस्तो संस्कार बसाएरमात्र राजनीतिलाई गुणात्मक र परिणाममुखी बनाउन सकिन्छ ।

आलोपालो पदको अभ्यासले सञ्चारकर्मीदेखि समाजको ठूलो हिस्सालाई प्रभाव पारेको देखिन्छ र प्रश्नहरू सोधिन्छ( ‘तपाईंको पालो कहिले, उहाँको पालो कहिले रु हामी राजनीतिमा बसेको गलत संस्कारलाई तोड्दै अघि बढिरहेका छौं । राजनीतिलाई गुणरदोषमा आधारित रहेर परीक्षण गर्ने संस्कार बसालौं, आलोरपालो वा तेरो र मेरोमा आधारित रहेर होइन ।’

सम्बन्धित समाचार