कृष्णबहादुर महराले भक्कानिएर बयान दिदै भने: दाओजिन वाङसँग चिनजान हो, कारोबार गरेको छैन

काठमाडौँ । पूर्व सभामुख कृष्णबहादुर महराको बयान पुरा भएको छ । केन्द्रीय अनुसन्धान ब्युरोका अनुसन्धान अधिकृतहरूले सरकारी वकिलको रोहबरमा दुई दिन महरासँग बयान लिएका हुन् । २०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले ७३० थान इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान अधिकृतहरूले उनलाई प्रश्न गरेका छन् ।

भेप प्रकरणमा बयान दिँदा महरा भक्कानिएका छन् । बयानको क्रममा महरा भक्कानिएको एक अनुसन्धान अधिकृतले बताए ।

महरा ८ प्रकारका औषधी सेवन गर्छन् । उनको घाँटीको टीबी र मस्तिष्कको नशामा समस्या छ ।

भेपमा सुन ल्याउने गिरोहका चिनियाँ सुन तस्कर दाओजिन वाङसँग ‘कनेक्सन’ देखिएपछि सुन तस्करी जाँचबुझ आयोगले उनलाई सङ्गठित तस्करी गरेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो । अनुसन्धान अधिकृतहरुसँग नेकपा ९माओवादी केन्द्र० का उपाध्यक्ष समेत रहेका महराले चिनियाँ सुन तस्कर वाङसँग चिनजान रहेको स्वीकारेका छन् ।

अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार बयानमा उनले भनेका छन्– ‘दाओजिन वाङसँग चिनजान हो, कारोबार गरेको छैन ।’ आफू राजनीति गर्ने हुनाले दिनमा धेरै जनाको फोन आउने र कुरा हुने गरेको महराले बताएका छन् ।

उनले भनेका छन्– ‘दिनहुँ धेरै फोन आउँछ कुरा हुन्छ तर, अहिले विस्तृत कुरा मलाई थाहै हुँदैन ।’ सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले प्रतिवेदन बुझाएपछि चैत ५ मा उनी पक्राउ परेका हुन् ।

महराका छोरा राहुल सो मुद्दामा अहिले पनि थुनामा छन् । चिनियाँ नागरिक वाङ सुन ल्याउने समूहका सदस्य हुन् । सुन छुटाउन चिनियाँ तस्कर दाओजिन वाङले पूर्व सभामुख कृष्णबहादुर महरालाई गुहारेको सीआईबीले गरेको अनुसन्धानबाट थाहा भएको छ । भेपमा सुन ल्याउने समूहका आसिन पेङ र दाओजिन वाङ ६० किलो सुन तस्करीमा पनि संलग्न देखिएका छन् । सुन ल्याउने समूहका आसिन, दाओजिन वाङ र लि हासोङ्ग तिनैजना फरार छन् ।

सम्बन्धित समाचार