जुम्ला : एक दशक पछि नेपाल एयरलाईन्सको जुम्ला–सुर्खेत उडान सूरु भएको छ । नेपाल एयरलाइन्सको ट्विनअटर जहाजले १० वर्षपछि जुम्ला–सुर्खेत उडान भरेको हो । सोमबार बिहान नेपालगञ्जदेखि ७ ः ५० मिनेटमा जुम्ला विमानस्थलमा अवतरण गरेको जहाजले दुई जना यात्रु लिएर सुर्खेतको उडान भरेको छ ।
त्यस्तै नेपाल एयरलाईन्स जुम्लाका म्यानेजर देवि प्रसाद न्यौपानेले वर्षपछि सरकारी जहाजले जुम्ला सुर्खेत उडान गरेको जानकारी दिए । उनका अनुसार नेपाल एयरलाइन्सको जहाजले जुम्लाबाट सुर्खेत उडान भरेर मन्त्रीहरूको टोली कालिकोट स्थित सुनथराली विमानस्थलमा र्पुयाएर सुर्खेत फर्किएपछि जुम्ला उडान गर्ने समय तालिका छ । त्यसपछि सुर्खेतदेखि जुम्ला हुँदै नेपालगञ्ज उडान भर्ने भएको हो ।
त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख सन्तोष अधिकारीका अनुसार खनेपाल एयरलाइन्सको जहाजले जुम्ला–सुर्खेत भाडा ५ हजार ४० रुपैयाँ निर्धारण गरिएको छ ।
त्यस्तै प्रशासनका अनुसार नेपाल एयरलाइन्सको नियमित उडान तालिका आइपुगेको छैन। नियमित गर्ने कि नगर्ने आगामी सोमबारको उडानले मात्र निश्चित गर्छ। अर्को सोमबारदेखि मात्र नियमित फ्लाइटको तालिका आउन सक्ने उनको भनाइ छ।
जुम्ला–सुर्खेत हवाई उडान नहुँदा अहिले पनि लुम्बिनी प्रदेश पुगेर कर्णाली प्रदेशको राजधानी सुर्खेत आउनुपर्ने बाध्यता छ । जुम्लामा नेपालगञ्जबाट नेपाल एयरलाइन्स,सीता,समिट र तारा एयरले उडान भरिरहेका छन् । नेपाल एयरलाइन्सले हुम्ला–सुर्खेत उडान भर्ने काम सुरु गरिसकेको छ ।
त्यस्तै यस अघि जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरी नन्द आचार्यले जिल्ला कर्णाली प्रदेशको राजधानीसँग हवाई सेवा जोड्न माग गर्दै मुख्यमन्त्री राजकुमार शर्मालाई ज्ञापन पत्र बुझाइएका थिए । उनले बुझाएको ज्ञानपन पत्रमा लामो समयदेखि भौगोलिक विकटताले पछाडि परेको साविकको कर्णाली अञ्चललगायत कर्णाली प्रदेशका सबै जिल्लालाई विकासका सवै पक्षको दृष्टिकोणबाट राज्यको नजर न्यून परेकाले कम विकसित र मानव विकास सूचकांकमा पनि पछि परेको उल्लेख गरिएको थियो ।