काठमाडौं : बालुवाटार जग्गा प्रकरण मुद्दा हेर्दाहेर्दैमा परेको छ । विशेष अदालतले बुधबार सुनुवाइ सकेको छ । तर फैसला हेर्दाहेर्दैमा राखिएको हो । बुधबार नै फैसला आउन सक्ने भनिएता पनि हेर्दाहेर्दैमा राखिएको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु न्यायाधीश खुशीप्रसाद थारु, राम बहादुर थापा र रितेन्द्र थापाको इजलासले चार बर्षअघि दर्ता भएको मुद्दाको सुनुवाइ गरेको थियो ।
बालुवाटारस्थित ललिता निवासको १ सय १३ रोपनी भन्दा धेरै जग्गा व्यक्तिको नाममा पुर्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ मा विशेष अदालतमा मुदा दर्ता गरेको थियो । मुद्दामा आयोगले १७५ जना प्रतिवादी बनाएको थियो जसमध्ये ६५ जनालाई जग्गा फिर्ताका लागि मात्रै प्रतिवादी बनाएको थियो ।
त्यसबेलाका उपप्रधान तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, तत्कालीन भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र अर्का पूर्वमन्त्री चन्द्रदेव जोशीबिरुद्ध मुद्दा दायर भएको थियो । बुधबार फैसला आउने भन्दै पूर्वमन्त्री चन्द्रदेव जोशीसहितका प्रतिवादीहरु विशेष अदालत पुगेका थिए ।
यो भ्रष्टाचारमा संलग्न रहेको आरोपमा तत्कालीन सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी, पूर्वनिर्वाचन आयुक्त सुधीर शाह र उनकी पत्नी उर्मिला, पूर्वसहसचिव गेहनाथ भण्डारी, उनकी पत्नी भुवनकुमारी चापागाईँ, चितवन जिल्ला अदालतमा कार्यरत न्यायाधीश विनोदकुमार गौतमबिरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको थियो ।
यो जग्गा विवादमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र डा. बाबुराम भट्टराई समेतको संलग्नता रहेको भनी आलोचना भएको थियो । दुवै पूर्वप्रधानमन्त्रीसँग सोधपुछ समेत भएको थियो । नेकपा एमालेका नेता विष्णु पौडेलका छोराको नाममा जग्गा रहेको भनी उनी समेत छानबिनमा तानिएका थिए । तर, जग्गा फिर्ता गरेका कारण पौडेलका छोराले उन्मुक्ति पाएका थिए ।
यो मुद्दा लामो समयदेखि अदालतमा छ । बुधबारै फैसला सुनाउने तयारी भएपनि प्राविधिक काम नसिकएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको अदालत प्रशासनले जनाएको छ । विशेष अदालतका प्रवक्ता उपरजिष्ट्रार धनबहादुर कार्कीका अनुसार निरन्तर २२ दिनको बहसपछि मुद्दाको फैसला हुन लागेको हो ।मध्यान्ह बाट सभार