भ्रष्टाचार मुद्दामा पूर्वडीआईजी महेशविक्रम शाहलाई ३ वर्ष जेल सजाय

काठमाडौं । विशेष अदालतले पूर्वडीआईजी महेश विक्रम शाहलाई ३ वर्ष जेल सजाय सुनाएको छ । बुधबार विशेष भ्रष्टाचार आरोपमा शाहलाई तीन वर्ष जेल सजाय सुनाएको हो ।

शाहलगायतविरुद्ध १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतका अध्यक्ष तथा न्यायाधीश टेकनारायण कुँवर तथा न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले शाहसहित पूर्वसई दिपेन्द्रप्रसाद पनेरुलाई जनही तीन वर्ष कैद सजाय सुनाएको हो ।११ पुसमा विशेष अदालतले शाहसहित दुई जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो । शाहसहित प्रहरीका पूर्वसई पनेरुलाई क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा तलब भत्ता प्रकरणमा दोषी ठहर गरेको थियो ।

अख्तियारले २० फागुन २०७६ मा यो मुद्दा विशेष अदालतमा दायर गरेको थियो । यो मुद्दाका आरोपित प्रहरी हवल्दार केशव सिंह ऐरी र लेखापाल सञ्जीव विशंखेले भने सफाइ पाएका थिए ।

पूर्वडीआईजी शाह मदन पुरस्कार विजेता साहित्यकार हुन् ।

सम्बन्धित समाचार