दुर्गा प्रसाईंको अभियान घोर पश्चगामी : महासचिव गुरुङ

सल्यान : नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले दुर्गा प्रसाईंको अभियान घोर पश्चगामी भएको बताएका छन्।

सल्यानमा आयोजित पत्रकार सम्मेलनमा उनले हिंसात्मक र मुलुकलाई द्वन्द्वतर्फ धकेल्न नदिन सरकार गम्भीर रहेको बताए।

उनले मुलुकलाई घोर पश्चगामी र प्रतिगामी दिशामा लैजान नदिइने बताए। उनले भने, ‘दुर्गा प्रसाईंको अभियान घोर पश्चगामी हो। विदेशी शक्ति केन्द्र भित्र्याउन, अस्थिरता र द्वन्द्वतिर लैजान त यो अभियानले सफलता पाउला तर मुलुक अब पुरानै व्यवस्थातिर जान सक्दैन।’

उनले प्रतिगामी शक्तिले परिवर्तनका मुद्दा उल्ट्याएर द्वन्द्व पैदा गर्न खोजेको दाबी गरे। जनता राजतन्त्रको पक्षमा नरहेको दावी गर्दै त्यो विस्थापित हुने बताए। नेपाललाई धार्मिक राज्य बनाउन नसकिने पनि उनको कथन छ।

उनले भने‚ ‘अहिले गणतन्त्रको विकल्प छैन। गणतन्त्रलाई सुधार्न सकिन्छ तर उल्ट्याउन सकिँदैन। केही कमजोरी भए सुधारेर समाजवादी गणतन्त्रमा जान सकिन्छ। यो व्यवस्थाका कमी कमजोरी र दलका नेतामा कमजोरी भए पनि सुधारेर जानुपर्छ।’

उनले यो व्यवस्था सबै किसिमका विचारका लागि खुला रहेको उल्लेख गरे। गुरुङले राजनीतिक कोर्स पूरा भए पनि आर्थिक कोर्स पूरा हुन नसकेको उल्लेख गरे। यसैगरी उनले धार्मिक राज्य बनाउन नसकिने बताएका छन्।

 

सम्बन्धित समाचार