काठमाडौं । सरकारले नेपालमा सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । टिकटक विश्वभरी नै निकै लोकप्रिय छ । पछिल्लो समय नेपाल यसको प्रयोगले आपराधिक गतिविधि बढेकाले बन्द गर्नुपरेको सरकारको भनाइ छ ।
आज (२०८० कार्तिक २७ गते ) बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जालका रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकरात्मक असर पारिरहेकाले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने र यससम्बन्धी व्यवस्था सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मिलाउने निर्णय गरेको छ ।
सरकारले टिकटक तत्काल बन्द गर्ने भने पनि अहिले बन्द भने भइसकेको छैन । तर, सरकारको यो निर्णयले समाज तरंगीत बनेको छ ।
नेपालमा यसअघि पनि सामाजिक सञ्जालहरूमाथि प्रतिबन्ध लगाउने तथा कडाइ गर्ने सरकारले प्रयास गरेको थियो । तर, तीव्र विरोधपछि सरकारले लागू गर्न सकेको थिएन । तर, केही दिन अगाडि मात्र सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका ल्याएर नियमन गर्ने तयारी गरेको प्रचण्ड सरकारले आज अकस्मात टिकटब बन्द गर्ने निर्णय लिएको हो ।
सरकारको यो निर्णयमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले आपत्ति जनाएका छन् । उनले टिकटक नियमन गर्नुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘टिकटकः बन्द हैन, नियमन गर ।’
सामाजिक सञ्जाल फेसबुकमा टिकटक बन्द गर्ने सरकारको निर्णयमाथि विभिन्न टिकाटिप्पणीहरू भइरहेका छन् । कतिपयले भने सरकारको यो निर्णयको स्वागत गरेका छन् ।
नेपालमा टिकटक पछिल्ला दिनहरूमा आपराधिक गतिविधिको एक कारक बने पनि यसबाट स्टार्टअप विजनेश गर्ने र स्वयम् रोजगारीको सिर्जना भने गरेको थियो । टिकटकका माध्यमबाट धेरैले आफूलाई स्वरोजगार बनाएका छन् । उता विभिन्न व्यवसायहरू पनि टिकटकका माध्यमबाट चलाउनेहरू पनि छन् ।