मुगुमा एकै परिवारका चार जनाको सामूहिक हत्या घटना : अनुसन्धान गर्न कुकुरसहित प्रहरीको टोली घटनास्थलमा

 

 

मुगुको छायानाथ रारा नगरपालिका– ६ स्थित मुन्दुगाउँमा आमासहित दुई छोरा र एक छोरीको हत्याको अनुसन्धानका लागि कुकुर सहित प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थल आइपुगेको छ ।
छायाँनाथ रारा नगरपालिका वडा नं ६ मन्दु गाउँकी २६ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा १ वर्षीय छोरा रहर बोहोरा र ७ वर्षीया छोरी अप्सरा बोहोराको हत्याको अनुसन्धान गर्न प्रहरीको अनुसन्धान टोली घटनास्थल आइपुगेको पुगेको हो । मुगु सामूहिक हत्या प्रकरणका मुख्य दोषी र घटनाबारे अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरीको विशेष टोली घटनास्थलमा खटाइएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी भीम ढकालका अनुसार सामूहिक हत्या काण्डको अनुसन्धानका लागि जुम्लाबाट एक र सुर्खेतबाट २ टोली मुगु खटिएका छन् । जसमध्ये एउटा टोली घटनास्थलमै पुगिसकेको र अरु दुई टोली आज मध्यान्नसम्ममा पुग्ने छ ।

उनका अनुसार सुर्खेतबाट सीआईवी जस्तै विशेष अनुसन्धान गर्ने वरिष्ठ सई नारायण शर्माको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली र अर्को कुकुर सहितको अनुसन्धान टोली रहेका छन् । एउटा टोली शुक्रबार राती कालिकोट बसेर शनिवार बिहानै मुगु पुगेको छ । आजबाट टोलीले हत्याबारे विशेष अनुसन्धान थाल्ने डिआइजी ढकालले बताए।

शुक्रवार बिहान ९ बजे हत्याबारे खबर पाउनासाथ घटनास्थलमा विस्तृत विवरण बुझ्न जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रनाउ वीरेन्द्र थापाको नेतृत्वमा प्रहरी घटना स्थलमा पुगेको थियो । मृतक आमा छोराछोरी सहित ७ गते बिहान दसैंको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएका थिए । ८ गते बेलुका घर फर्केका उनीहरूको सोही राती हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।शुक्रबारदेखि दिनभरि जसो प्रहरीले गाउँलेहरूबाट प्रारम्भिक सूचना लिने काम गरेको छ भने घटनास्थललाई पुरै सिल गरि पहरा दिइरहेको छ ।

सम्बन्धित समाचार