विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस :  गंगादेवी शान्ति पुरस्कार


जुम्ला  : बिहिबार जुम्लामा पनि विश्व अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यसपछि हरेक वर्ष संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रले यो दिवस मनाउँदै आएको पाइन्छ ।

यस वर्षको विश्व शान्ति दिवसको नारा ‘एक्सन फर पिस आवर एम्बिसिन फर द ग्लोबल गोल्स’ रहेको छ ।शान्ति कायम गर्नु व्यक्तिगत र सामूहिक उत्तरदायित्व रहेको जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्यले बताए । उनले भने,शान्तिको अधिकार अन्तर्राष्ट्रिय कानुनको अभिन्न अंग बनेको छ । सबै मानव अधिकारहरु शान्तिपूर्ण अवस्थामा मात्र उपभोग गर्न पाउने हुँदा शान्तिको अधिकार अरु अधिकारको तुलनामा बढी महत्वपूर्ण छ ।


त्यस्तै राष्ट्रिय मानव अधिकार आयोग जुम्ला शाखाका प्रमुख धनराज शाहीले विश्वमा हिंसा न्यूनीकरण हुन नसक्नुको मुख्य कारण हिंसा हुनुका कारणहरुको सम्बोधन हुन नसेको बताए । उनले भने अशान्ति रोक्ने जे÷जति प्रयास भएकाछन् ती हिंसालाई बलका भरमा रोक्नेतर्फ मात्र केन्द्रित छन् । समाज हुने हिंसा रोक्न तर्फ सबैको ध्यान केन्द्रित भएको छैन । उनका अनुसार शान्ति, अहिंसा, मानव अधिकार र लोकतन्त्र एकापसमा पृथक रहन नसक्ने भएकाले मानव अधिकार र प्रजातन्त्रको जगमा नै शान्ति स्थापना हुन्छ भन्ने कुरामा अझै पनि सरकारहरुको ध्यान पुगेको छैन ।

त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. सुवि बस्न्यातलाई मितेरी गंगादेवी शान्ति पुरस्कार प्रदान गरिएको छ । उनीसहित कालिकोटका हिक्मतबहादुर मल्ल र बझाङकी गंगुदेवी खडायतलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।बिहीबार विश्व शान्ति दिवसको अवसरमा एक्सन वक्र्स नेपालले एक औपचारिक कार्यक्रममार्फत उनीहरुलाई प्रमाण पत्र, दोसल्लासहित जनही नगद ६ हजार ६९३ रुपैयाँसहित पुरस्कार प्रदान गरिएको हो ।

कर्णालीका स्त्री तथा प्रसुति समस्या भएका बिरामीहरुलाई उनले लामो समयदेखि उपचार गर्दै आएकी छन् । यस्तै, कालिकोटका मल्ल वि.सं. २०७५ सालदेखि जिल्लामा भइरहने सामाजिक गतिविधिमा संलग्न हुँदै आएका छन् । उनले कोभिड—१९ महामारीका बेला १ हजारदेखि १२ सय जनाजति कोभिड—१९ संक्रमितका लागि ‘आपसमा युवा अभियान’ सञ्चालन गरेका थिए ।

त्यस्तै  उनले जातीय छुवाछुत निर्मूल पार्नका लागि सडक नाटकदेखि चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । बझाङकी खडायतले जिल्लामा पहिलो पटक हलो जोतेकी थिइन् । उनी महिलाको हकहितको लागि आवाज उठाउने, समाजमा शान्ति स्थापना, महिला हिंसाविरुद्धको अभियानमा सक्रिय छन् ।

त्यस्तै अहिले पनि न त शान्तिविरुद्धको अपराधका आरोपीलाई कानुनी कारबाहीको दायरामा ल्याउन र पीडितलाई परिपूरण दिन सकिएको छ न हिंसा हुनुका कारणहरुको सम्बोधनतिर कसैको ध्यान जान सकेको छ । संसार नै अहिले हिंसा र शान्तिको दोसाँधमा छ ।

सम्बन्धित समाचार