छोटो समय भएकाले न्युयोर्कबाट सिधै चीन जानुपर्ने स्थिति बन्योः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकाबाट नेपाल फर्कन छोटो समय भएकाले उतैबाट सिधा चीन जानु पर्ने अवस्था आएको बताएका छन् ।

आफ्नो चीन भ्रमण र संयुक्त राष्ट्र संघको ७८औँ महासभाको औपचारिक भ्रमणबारे शुक्रबार प्रतिनिधिसभालाई जानकारी गराउँदै प्रचण्डले यस्तो जानकारी दिएका हुन् ।

चीन भ्रमणमा प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति सी चिनफिङसँग हाङजाओमा शिष्टाचार भेटवार्ता गर्ने छन् ।

‘यस भ्रमणलाई नेपाल र नेपाली जनताको हीत एवं नेपाल चीन सम्बन्धलाई मजबुत तुल्याउन सदुपयोग गर्ने कुरामा म यस सम्मानित सदनलाई अवगत गराउन चाहन्छु,’ प्रचण्डले भने, ‘हाङजाओमै चिनिया राष्ट्रपति महामहिम सी चिनफिङसँग भेटघाटको कार्यक्रम रहेको छ ।’

अगामी असोज ५ गते संयुक्त राष्ट्र संघको ७८औँ महासभामा भाग लिएर सिधै चीन भ्रमणमा जाने कार्यक्रम तय गरिएको प्रचण्डले बताए ।

‘संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय सत्र पश्चात असोज ५ गते छिमेकी मुलुक गणवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि हाङजाओ जाने कार्यक्रम तय भएको छ,’ प्रचण्डले भने, ‘संयुक्त राष्ट्रसंघमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिकाबीच अत्यन्त छोटो समय रहेका कारण म न्युयोर्कबाट सिधै छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा जानुपर्ने स्थिति बन्न गएको हो ।’

आफ्नो चीन भ्रमण दुई मुलुकबीचको विद्यमान द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने तथा नेपाल र नेपाली जनताको हीत एवं दुई मुलुकबीचको सम्बन्धलाई मजबुत तुल्याउन सदुपयोग गर्ने उनले बताए ।

यसअघि प्रधानमन्त्री प्रचण्डले असोज ४ गते संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई न्युयोर्कमा सम्बोधन गर्नेछन् ।

‘संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी भई सम्बोधन गर्नका लागि संयुक्त राष्ट्रसंघको महासचिवबाट निमन्त्रणा भएको छ,’ प्रचण्डले भने, ‘महासभामा सरकार प्रमुखको हैसियतमा सहभागी भई नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासन प्रणालीको हाम्रो अभ्यास र समुन्नत नेपाल निर्माणमा हाम्रो प्रयासका विषयहरुलाई विश्व समुदायसमक्ष मुखरित गर्न पाउनुलाई मैले एउटा महत्वपूर्ण अवसरको रूपमा लिएको छु ।’

संयुक्त राष्ट्र संघको महासभामा आफूले नेपालले हासिल गरेका राजनीतिक उपलब्धिहरू अवगत गराउने, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन नेपालले गरिरहेको प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव खोज्ने, अतिकम विकसित मुलुकबाट दिगो र स्थायी रुपमा स्तरोन्नति हुन आइपरेका चुनौतिबारे विश्व समूदायको ध्यानाकर्षण गराउने उनले बताए ।

अल्प विकसित देशहरूको समूहका अध्यक्षको हैसियतले यो समूहका सदस्य राष्ट्रहरूले झेल्नुपरेका विशिष्ट चुनौतिबारे आवाज उठाउने, जलवायु परिवर्तनबाट नेपालजस्तो पर्वतीय देशमा परेको गहिरो र दूरगामी प्रभावलगायतका नेपालका लागि चासोका विषय र प्राथमिकताहरुप्रति विश्व समुदायको न्यायाकर्षण गराउने योजना रहेको प्रचण्डले बताए ।

सम्बन्धित समाचार