प्रधानन्यायाधीश श्रेष्ठले भने : न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल सुरु गर्छु

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पदभार सम्हालेका छन् । उनले पदभार सम्हालेपछि जिल्ला र उच्च अदालतमा न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल सुरु गर्ने बताएका छन् ।

उनले आज पहिलो निर्णय स्वचालित प्रणालीबाट पेशी तथा तारिख व्यवस्थापन गर्ने गरेका छन् ।

मंगलबार शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएपछि उनी सर्वोच्च अदालत पुगेर पदबहाल गरेका थिए ।

३१औँ प्रधानन्यायाधीशका रूपमा आफ्नो कार्यभार प्रारम्भ गरेका उनले न्यायको अनुभूति हुने गरी काम गर्ने बताए । आफ्नो कार्यकालमा केही गरेर जाने उल्लेख गर्दै उनले न्याय परिषद्को बैठक राखेर तत्काल न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने र मुद्दा फर्छ्योटमा ध्यान दिने बताए ।

नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् । संसदीय सुनुवाइ समितिले सोमबार नै प्रधानन्यायाधीशमा श्रेष्ठलाई सर्वसम्मत अनुमोदन गरेको थियो ।

श्रेष्ठ २०८१ असोज १९ पछि अनिवार्य अवकाश हुनेछन् ।

सम्बन्धित समाचार