प्रधानमन्त्रीको सन्देश : सुन प्रकरणको अनुसन्धान सीआईबीले नै गर्ने, चित्त नबुझे उच्चस्तरीय समिति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नै गर्ने स्पष्ट पारेका छन् । शुक्रबार सभामुख देवराज घिमिरेसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीले नै गर्ने बताएका छन् ।

३५ दिन सीआईबीले अनुुसन्धान गर्ने र त्यसपछि चित्त नबुझेमा उच्चस्तरीय समितिको बारेमा सोच्न सकिनेमा प्रधानमन्त्री प्रचण्डले सभामुख घिमिरेलाई बताएको
बालुवाटार स्रोतले बताए । ‘तत्काल उच्चस्तरीय समिति नबनाउने । ३५ दिन सीआईबीलाई अनुसन्धान गर्न दिने । त्यसपछि चित्त नबुझेमा थप छलफल र उच्चस्तरीय समितिबारे सोच्न सकिनेमा प्रधानमन्त्री हुनुहुन्छ,’ बालुवाटार स्रोतले भन्यो ।

तर, सदन अवरोध गरिरहेको एमालेले राजस्व र सीआईबीलाई सुन प्रकरणको छानबिन गर्न निरन्तरता दिनुपर्ने यसका साथै उच्चस्तरीय समिति पनि बनाउनुपर्ने तर्क गरिरहेको छ ।

यसअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि प्रतिनिधिसभामा जवाफ दिने क्रममा ३५ दिन सीआईबीलाई अनुसन्धानको लागि समय दिन प्रमुख प्रतिपक्षी एमालेलेलाई आग्रह गरेका थिए ।

सभामुख घिमिरेले सदनको अवरोध हटाउन गम्भीर भएर लाग्न अनुरोध गरेका छन् । ‘माननीयहरूले बोल्न समय माग्नुभएको छ । प्राकृतिक विपत्तिलगायतका विषयमा माननीयहरूले बोल्न पाइनँ भन्नुहुन्छ । दलीय सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन । आम जनताले पनि सदन अवरोधलाई राम्रो मानेका छैनन् । सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरिदिनुहोस्,’ प्रधानमन्त्रीसँगको भेटमा सभामुख घिमिरेले भने ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल एमालेसँग सदनको अवरोध हटाउन छलफल गर्ने आश्वासन दिएका छन् ।

सम्बन्धित समाचार