जुम्लाका आठ वटा स्थानीय तहले ल्याए बजेट सहित नीति तथा कार्यक्रम


जुम्ला ः जुम्लाका आठ वटै वटा स्थानिय तहले निति तथा कार्यक्रम ल्याएका छन । स्थानीय तहले हरेक वर्ष असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याउने नीति अनुसार यस पटक बजेट सहित निति तथा कार्यक्र ल्याएका हुन । जुम्लाका एक नगरपालिका र सात गाउँपालिकाले कुल ३ अर्ब ३८ करोड १९ लाख बजेटसहित नीति तथा कार्यक्रम ल्याएका हुन् ।

त्यस्तै चन्दननाथ नगरपालिकाले आर्थिक वर्ष ०८०÷८१ मा ५५ करोड १० लाख ८० हजार बजेटसहित नीति तथा कार्यक्रम ल्याएको नगर उपप्रमुख रामदेवि खड्काले बताइन् । उनले भनिन् मुलभुत नीति तथा कार्यक्रमसहित बजेट ल्याएको हो ।
भौतिक विकास, व्यवस्थित शहरीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, बायो इन्जिनियरिङ्ग, फोहोरमैला व्यवस्थापन र खानेपानी तथा सरसफाई सम्वन्धी नीति तथा कार्यक्रम नगरपालिकाले ल्याएको छ । यस्तै महिला तथा बालबालिका, स्वास्थ्य शिक्षा युवा तथा खेलकुद, कृषि, संस्कृति तथा पर्यटन र सूचना संचार प्रविधि नीति तथा कार्यक्रममा सूचना प्रविधि नीति बनाई विस्तृत एंवम् एकिकृत कार्ययोजना बनाएर लागु गरिने नगरप्रमुख राजुसिंह कठायतले बताए ।

त्यस्तै तिला गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ का लागि ४४ करोड ९२ लाख ८४ हजार ९९३ रुपैयाँको संक्षेपमा प्रस्ताविक बजेट ल्याएको छ । गाउँ सभाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपाध्यक्ष गोरीकला बुढाले आर्थिक वर्ष २०८०÷८१ का लागि ४४ करोड ९२ लाख ८४ हजार ९९३ रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् । नीति तथा कार्यक्रममा कृषि पशु विकास, लघु उद्यम विकास तथा गरिबी निवारण कार्यक्रम, समाजिक विकास, शिक्षा, स्वास्थ्य, महिला तथा बलबालिका, सामाजिक सुरक्षा, खानेपानी तथा सरसफाई, सिचाई, जलविद्युत, संचारलाई विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रममा समावेश गरिएको उपाध्यक्ष बुढाले बताइन् ।

त्यस्तै गुठीचौर गाउँपालिकाले ३२ करोड ५८ लाख २५ हजार ७ सय रुपियाँको बजेटसहित नीति तथा कार्यक्रम ल्याएको उपप्रमुख शान्तिकुमारी मल्ल भण्डारीले बताइन् ।
शिक्षामा लगानी गरौँ, पढाउ लेखाउ बालबालिका र सामुहिक संकल्प गारौँ, बनाउ सुरक्षित गाउँपालिका भन्ने मुल नारासहित आर्थिक वर्ष ०८०÷०८१ को नीति तथा कार्यक्रम र बजेट ल्याएको गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले बताए । अध्यक्ष बुढाले भने १० औँ गाउँ सभाबाट मदिरा नियन्त्रण कार्यविधि, आर्थिक ऐन, निर्माण जन्य ढुंगा गिट्टी बालुवा उत्खनन तथा प्रशोधन र विक्री वितरण सम्वन्धी कार्यविधि र वडा विभाजन सम्वन्धी निर्णय पनि पारित भएको हो । वडा नम्बर ४ र ५ वडालाई विभाजन गर्ने निर्णय पारित भएको हो ।

त्यस्तै कनकासुन्दरी गाउँपालिकाले ४८ करोड २९ लाख ४३ हजार रुपियाँ बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको प्रधानमन्त्री रोजगार संयोजक हंशराज न्यौपानेले बताए । उनले भने गाउँपालिकाले कोटघरमा विलिव्रिज पुल निर्माण र नाग्म गमगढी सडक अन्र्तगत हाडसिंजा सडक खण्ड देखि कनकासुन्दरी मन्दिर जाने झोलुङ्गे पुल निर्माण गर्ने महत्वपूर्ण नीति तथा कार्यक्रम ल्याएको हो ।

त्यस्तै सिंजा गाउँपालिकाले ३७ करोड ३९ लाख २० हजार ३ सय रुपियाँ बजेटसहित नीति तथा कार्यक्रम ल्याएको उपप्रमुख शितली रोकायाले बताइन् ।

त्यस्तै पातारासी गाउँपालिकाले ४० करोड ४५ लाख ३७ हजार रुपियाँ बजेटसहित नीति तथा कार्यक्रम ल्याएको उपप्रमुख जनमाया रोकायाले बताइन् । तातोपानी गाउँपालिकाले ४० लाख २५ हजार ८२ हजार रुपियाँ बजेटसहित नीति तथा कार्यक्रम ल्याएको उपप्रमुख रेवती रावलले बताइन् । हिमा गाउँपालिकाले ३९ करोड ९७ लाख ४८ हजार रुपियाँ बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरिएको अध्यक्ष लक्ष्मण शाहीले बताए ।

 

सम्बन्धित समाचार