प्रदेशको नाम कोशी राखेको विरोधमा ओलीमाथि ढुंगामुढा, एक जना प्रहरीको नियन्त्रणमा

हेटौंडा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि झापामा ढुंगामुढा भएको छ झापाको बुधबारेमा पार्टीको कार्यक्रममा सहभागी हुन गएका ओलीमाथि प्रदेशको नाम कोशी राखेको विरोध गदै ढुंगामुडा भएको हो ।

एमालेका प्रमुख सचेतक पदम गिरीले पार्टीका अध्यक्ष ओली सहभागी झापाको बुधबारेमा आयोजित कार्यक्रममा सत्तापक्षकै कार्यकर्ताहरुले आक्रमण प्रयास गरेको बताएका हुन्।

बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै प्रमुख सचेतक गिरीले पार्टीद्वारा आयोजित ओली सहभागी कार्यक्रम बिथोल्ने, ढुंगामुढा गर्ने काम भएकोभन्दै आपत्ति जनाए।

उनले मुलुकको शान्ति, सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको सत्तापक्षले नै अध्यक्ष ओली सहभागी कार्यक्रममा होहल्ला, ढुंगामुढा गर्ने र कार्यक्रम नै बिथोल्ने प्रयास गरेको भन्दै आक्रोश पोखे।

प्रमुख सचेतक गिरीले मुलुकको शान्ति, समृद्धि र विकासका लागि रचनात्मक ढंगले भूमिका निर्वाह गरिरहेको आफ्नो पार्टीको नेतृत्वमाथि त्यस्ता हर्कत भए एमालेलाई सैह्य नहुने चेतावनीसमेत दिए।

‘एमाले अध्यक्ष केपी ओली काठमाडौंबाट झापातर्फ जाँदै गर्दा भद्रपुर विमानस्थलबाट बुधबारे जाने क्रममा कार्यक्रमस्थलमा पुग्नै लाग्दा होहल्ला गर्ने, कार्यक्रम बिथोल्न अबाञ्छित गतिविधिहरु गर्ने, शान्ति भंग गराउने गतिविधि भएका छन्, उनले भने।

उनले आमजनतालाई यो व्यवस्थाप्रति विश्वास जगाउन चाहेको पनि बताए। मुलुकलाई एउटा सही गन्तव्यमा अगाडि बढाउने काममा हामी लागिरहेको पनि उनले बताए।

‘हामीले लडेर यो मुलुकमा लोकतन्त्र ल्यायौँ। यति ठूलो परिवर्तन हाम्रै नेतृत्वमा हामीले गर्‍यौं। तर आज नेकपा एमालेको एउटा कार्यक्रममा सहभागी हुन जाँदै गर्दा एमालेको नेतृत्वमाथि ढुंगामुढा गर्ने कोशिस गरिएको छ,’ उनले भने, ‘अनेकौँ ढंगले कार्यक्रम भाँड्ने कोशिस गरिन्छ। अशान्ति पैदा गर्ने कोशिस गरिन्छ। त्यसमा सत्तापक्षकै कार्यकर्ताहरु घुसपैठ गरिएको छ। मुलुकमा शान्ति स्थापना गर्ने दायित्व सत्तापक्षको हो कि होइनरु त्यो जिम्मेवार हुनुपर्छ कि पर्दैन ? हामी प्रतिपक्षमा बसेर अन्याय सहन गर्नुपर्ने कुनै कारण छैन।’

प्रमुख सचेतक गिरीले प्रमुख प्रतिपक्षजस्तो पार्टीलाई जिस्क्याउने काम नगर्न पनि सत्तारुढ दल र सरकारलाई सचेत गराए।

संसदमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यक्ष ओलीमाथि उक्त समूहले ढुंगामुढा गरेको बताएका हुन् । ‘कोशी नामकरण विरोध राख्ने समूहका तर्फबाट कालो झण्डा प्रदर्शन गर्ने, अभद्र व्यवहार गर्ने दुःखद घटना भएको छ । सरकारका तर्फबाट दुःख व्यक्त गर्दै यसक्रममा प्रहरीले ढुंगामुढामा संलग्न एक जनालाई नियन्त्रणमा लिएको छ,’ उनले भने ।

ढुंगामुढामा दुई जना प्रहरी घाइते भएको समेत गृहमन्त्री श्रेष्ठले सदनलाई जानकारी गराए । आजकै बैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले घटनामा सत्तारुढ दलकै कार्यकर्ताको संलग्न रहेको बताएका थिए ।

सम्बन्धित समाचार