जुम्ला ः जुम्ला रारा अल्ट्रा म्याराथनको उपाधि दलबहादुर कुँवर र मञ्जु रावतले जितेका छन् । पुरुषतर्फ दलबहादुरले ४९ किलोमिटर दुरीको जुम्ला रारा अल्ट्रा म्याराथन ४ घण्टा ५४ मिनेट १० सेकेन्डमा पार गर्दै स्वर्ण विजेता बनेका हुन् । यता महिलातर्फ मञ्जुले ६ घन्टा ६ मिनेट २४ सेकेन्डमा पार गर्दै स्वर्ण विजेता बनिन् ।
तेस्रो जुम्ला–रारा म्याराथनमा द्वितीय भएका दलबहादुर कुँवर जुम्लाको तातोपानी ७ निबासी हुन् । पुरुषतर्फ द्वितीय स्थान धीरबहादुर बुढा र तृतीय स्थान शेरबहादुर बुढाले ओगटेका छन् । उनीहरुले क्रमश ः ४ घन्टा ५७ मिनेट ५७ सेकेण्ड र ५ घण्टा ८ मिनेट ४१ सेकेन्डमा तोकिएको दुरी पार गरेका थिए । यसैबीच ५ घन्टा २६ मिनेट ५५ सेकेन्ड लगाएर लालचन्द्र रावत चौथो, ५ घन्टा ३३ मिनेट ८ सेकेन्डमा दुरी पार गर्दै सोमबहादुर रावतले पाँचौ स्थान प्राप्त गरेका छन् ।
चौथो अल्ट्रा म्याराथनको महिलातर्फको उपाधि जुम्लाकै मञ्जु रावतले उचालेकी छन् । उनले ६ घन्टा ६ मिनेट २३ सेकेन्डमा निर्धारित दुरी पार गरिन् । ६ घन्टा ५४ मिनेट २७ सेकेन्डमा दुरी पार गर्दै गंगा भण्डारी द्वितीय र ७ घन्टा ५ मिनेट ४६ सेकेन्ड लगाएएर अनिता बुढा तृतीय भएको आयोजक कर्णाली स्पोर्ट्स क्लब जुम्लाले जनाएको छ ।७ घन्टा ५५ मिनेट ३९ सेकेन्ड लगाएर उमाकली बुढा चौथो र ७ घन्टा ५९ सेकेन्ड १५ मिनेटको दुरी पार गर्दै कुशाबुढा रोकायाले पाँचौ स्थान प्राप्त गरिन् । म्याराथनमा उपाधि जित्ने पुरुष, महिला सबै जुम्लाका हुन् ।जुम्ला–रारा अल्ट्रा म्याराथनमा महिला पुरुष दुवैतर्फका प्रथम द्वितीय तृतीय हुने खेलाडीले क्रमशः नगद १ लाख, ७५ हजार ५० र चौथो र पाँचौ हुने खेलाडीले २०÷२० हजार नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् । जुम्लाको चन्दननाथ मन्दिरबाट सुरु भएको म्याराथन रारा तालको हुटुमा पुगेर सकिएको थियो ।
उनीहरुलाई रारातालमा औपचारिक कार्यक्रम गरेर पुरस्कार प्रदान गरिएको क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए । म्याराथनमा ४९ किलोमिटरमा ७० जनाले नाम दर्ता गराएकोमा ५१ जना मात्रै दौडमा सहभागी थिए । अमेरिकाका २, भारतका १, आयरल्यान्डका १ र बेलायतका १ जना खेलाडीले भाग लिएका कर्णाली खेलकुद क्लब जुम्लाले जनाएको छ ।
यस प्रतियोगिताले कर्णालीको पर्यटन प्रवर्द्धनका साथै पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा टेवा पुग्ने उद्देश्यसहित हरेक वर्ष कर्णाली खेलकुद क्लबले म्याराथनको आयोजना गर्दै आएको छ । २५ प्रतिशत कर कट्टी गरेर खेलाडीलाई पुरस्कार प्रदान गरिएको क्लबका सचिव मधुराज न्यौपानेले जानकारी दिए ।
म्याराथनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गरेका थिए । डिभिजन वन कार्यालय जुम्लाको आर्थिक सहयोगमा जुम्ला रारा अल्ट्रा म्याराथनको आयोजना गरिएको थियो । म्याराथनले कर्णालीको सुन्दरता झल्काउनुका साथै खेलाडी उत्पादनमा प्रोत्साहन मिलेको खेलाडीहरुले बताएका छन् । विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायाले कर्णाली हरेक हिसाबले अब्बल भए पनि चिनिन नसकेको भन्दै कर्णाली चिनाउने अभियानका रुपमा म्याराथनलाई अघि बढाएको बताए । उनले जुम्ला रारा अल्ट्रा म्याराथनमा सहभागी खेलाडीहरु राष्ट्रिय अन्तर्राष्ट्रिय खेलहरुमा भाग लिएर विजेता बन्न सक्ने बताए