कांग्रेस पार्टी नै बनेको छैन, ओलीजीमा नैतिकता छैन : महासचिव घनश्याम भुसाल

काठमाडौं । सत्तारुढ गठबन्धन दल नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुषालले एमाले अध्यक्ष केपी शर्मा ओलीमा नैतिकता नभएको आरोप लगाएका छन् ।

हेटौँडामा शुक्रबार पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भुसालले उक्त आरोप लगाएका हुन् । उनले कांग्रेसको दुःखको रूपमा विश्लेषण गर्दै कांग्रेस पार्टीको रूपमा निर्माण नै नभएको टिप्पणी गरेका हुन् ।

एकीकृत समाजवादीलाई गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तथा सरकारका सन्दर्भमा ठूला दलहरूले अप्ठेरोमा पारेको टिप्पणी गर्दै उनले कांग्रेसलाई पार्टीको रूपमा निर्माण नै नभएको आरोप लगाएका हुन् ।

आफ्नो दललाई अप्ठेरो पार्ने एमाले र माओवादीप्रतिको कटाक्षपछि बोल्दै भुषालले भने, ‘कांग्रेस त भइगयो फेरि । कांग्रेस नचिनेको पार्टी होइन । कांग्रेसको आफ्नै दुःख छ । कांग्रेस एउटा पार्टीको रूपमा निर्माण नै भा’छैन ।’

कांग्रेसभित्र खास कुनै मुद्दाहरूमा एकता र प्रतिबद्धता नै नहुने गरेकोले पार्टीको रूपमा निर्माण हुन नसकेको भुसालको तर्क थियो । ‘पार्टीभित्र एकता र प्रतिबद्धता हुनुपर्छ, त्याहाँ कुनै एकता र प्रतिबद्धता नै हुँदैन, त्यसैले पार्टीको रुपमा निर्माण हुन सकेकै छैन,’ उनले भने ।

चुनावका बेलामा हरेक कांग्रेस स्वतन्त्र हुने गरेको उनको टिप्पणी थियो । ‘चुनावमा कांग्रेसबाट उठ्ने उम्मेदवारले पुष्पम, पत्रम, के–के गरेर मिलाउँछ विचरा अलिअलि जोगाउँछ । नत्र भने कांग्रेस पार्टी चल्दैचल्दैन’, भुषालले भने ।

उनले कांग्रेस एकीकृत समाजवादीकै पिठ्युँ चढेर जनतामा गएको भन्दै कसका कारणले सत्तामा गयौँ भन्ने कुरा अलिअलि शेरबहादुर देउवा र केही नेताले बोल्ने गरेको र अरुलाई मतलब नै नभएको टिप्पणी गरे । जसका कारण एकीकृत समाजवादीलाई बेलाबेलामा अप्ठेरो पार्ने गरेको उनको भनाइ छ ।

भुषालले नागरिकमा नयाँ पार्टीहरूप्रति आकर्षण बढ्नुमा कांग्रेस प्रमुख दोषी भएको आरोप पनि लगाए । जनतालाई रोजगारी दिनुको सट्टा पञ्चायतकालमा खुलेका उद्योग, करकारखाना कांग्रेसले बेचेकाले अहिलेको राजनीतिक संकट आइपरेको उनको भनाइ थियो । कांग्रेसले धेरैपटक सरकार चलाउँदा उद्योगहरू बन्द गराएकाले रोजगारी गुम्न पुगेको र बेरोजगारी बढेपछि वर्तमान राजनीतिक दलहरूप्रति नागरिकमा वितृष्णा पैदा भएको उनले बताए । ‘वर्तमान राजनीतिले बाटो बिगारेको जनताको परिवर्तन नभएर हो’, उनले भने ।

त्यसअघि उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरे । ओलीले एकीकृत समाजवादीलाई बिगार्न साम, दाम, दण्ड, भेद लगाएको आरोप लगाए । ‘मैले यसो किन भन्दैछु भने, ओलीजीसँग मूल्य मान्यता, सिद्धान्त, राजनीति, नैतिकता, लाज, घीन केही चिज छैन । जे पनि गर्दिनुहुन्छ उहाँ’, भुषालले भने ।

भोलि शनिबार एमालेमा प्रवेश गर्ने लागेका मुकुन्द न्यौपाने समूहप्रति लक्षित गर्दै भुषालले अझै जानुपर्ने बताए । एमालेमा जानेहरू अझै बढ्न सक्ने भन्दै उनीहरूलाई जान दिनुपर्ने उनको भनाइ थियो ।

उनले माओवादीका नाममा केही नेताहरू एकीकृत समाजवादीलाई बिगार्न लागेको आरोप लगाए । एकीकृत समाजवादी नागरिकको जीवनस्तर उकास्ने मुद्दा बोकेर हिँड्ने उनको भनाइ छ । ‘नयाँ जिन्दगी दिने भनेको, रोजगारी सिर्जना गर्ने भन्ने हो । सबै जना रोजगार भएपछि यो अवस्था नै आउँदैन’, भुसालले भने । मुलुक कृषि क्षेत्र र जलस्रोतको सदपयोग गर्दै विद्युत् उत्पादनबाट धनी बन्ने भुषालले बताए ।

सम्बन्धित समाचार