नवनियुक्त परराष्ट्रमन्त्री भन्छन् : प्रधानमन्त्रीको भारत भ्रमणबारे तयारी सुरु गर्छु

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारीको कामलाई अगाडि बढाउने बताएका छन् ।

आइतबार सिंहदरबारस्थित आफ्नो कार्यालयमा पुगेर पदभार ग्रहण गरेलगत्तै साउदले सो कामलाई अघि बढाउने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री साउदले मन्त्रालयका सचिवलगायत त्यसको तयारीमा रहेका टिमहरूसँग ब्रिफिङ लिएर सो कामलाई अघि बढाउने बताए ।

उनले आफूले नेपाललाई विश्वभर नै शान्तिप्रीय र लोकतान्त्रिक देशको रूपमा चिनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री साउदले छिमेकीसहितका देशहरूसँगको नेपालको सम्बन्ध सौहाद्रपूर्ण, शान्तिपूर्ण र सुमधुर सम्बन्ध रहिआएको उल्लेख गर्दै त्यसलाई अझै घनिष्ट बनाउँदै लैजाने बताए ।

‘नेपाल शान्तिपूर्ण मुलुक हो । हामी संसारका सबै देशहरूसँग हाम्रो लामो समयदेखि इतिहासदेखि नै अत्यन्त सौहाद्रपूर्ण, शान्तिपूर्ण, सुमधुर सम्बन्ध रहिआएको छ,’ साउदले भने, ‘हामीले आगामी दिनमा पनि विश्वभरिका देशहरूसँग, छिमेकीहरूसँग हामीले आफ्नो सम्बन्धलाई घनिष्ट बनाउँदै लैजाने छौँ ।’

सम्बन्धित समाचार