सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, एकै व्यक्तिसँग ६९ करोड बिगो दाबी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

केन्द्रले पावर सिस्टम इन सेक्युरिटी प्रिन्टिङ प्रेस एन्ड प्रेसराइज्ड फ्युल स्टोरेज ट्याङ्कको खरिदमा बदनियत भएको भन्दै परेको उजुरीमा अनुसन्धानपछि उनीहरूमाथि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।

उक्त खरिद कार्यमा खरिद कार्यमा अस्वाभाविक लागत अनुमान तयार गरी स्वीकृत गर्ने, खरिद सम्झौताविपरीत गुणस्तरहीन इलेक्ट्रिक ट्रान्सफर्मर स्वीकार गर्ने, सम्झौतामा उल्लेख भएभन्दा फरक कन्ट्री अफ ओरिजिन भएको जेनेरेटर स्वीकार गरी भुक्तानी गर्ने, खरिद सम्झौताबमोजिम कामै नगरी संरचना सञ्चालनबापत र आपूर्ति पछिको सेवाबापत अग्रिम तवरमा बढी भुक्तानी दिने कार्य भएको अख्तियारको ठहर छ ।

त्यस्तै, आवश्यकता नै नरहेको र औचित्य पुष्टि हुन नसक्ने बुल्क फ्युल ट्याङ्क सिस्टमको खरिद गर्ने कार्य गरी नेपाल सरकारको सम्पत्ति गैरकानुनी तवरले हानिनोक्सानी तथा सरकारी रकम दुरुपयोग गरी सुरक्षण मुद्रणका लागि आवश्यक विद्युतीय पूर्वाधार खरिदमा भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारको दाबी छ ।

सोही कारण उनीहरूमाथि विशेष अदालतमा मुद्दा दारयर गरिएको प्रवक्ता दाहालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारले केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध ६९ करोड ८ लाख ८१ हजार ८५४ रुपैयाँ ७० पैसा बिको कायम गरेको छ भने बिगोबमोजिम जरिवाना गरी बिगो असुलउपर गर्नुपर्ने मागदाबी लिएको छ ।

तत्कालीन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सुरक्षण मुद्रण केन्द्रमा प्रतिनिधि हाल वन तथा वातावरण मन्त्रालयमा कार्यरत सीडीई नवीनकुमार पोखरेल (मेकानिकल) विरुद्ध ४९ करोड ४६ लाख ३५ हजार ९४५ रुपैयाँ ७० पैसा बिगो कामय गरी बिगोबमोजिम जरिवाना र बिगो असुलउपर हुनुपर्ने मागदाबी लिएको छ ।

त्यस्तै, तत्कालीन सुरक्षण मुद्रण केन्द्रमा प्रतिनिधि र हाल राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यरत सहायक निर्देशक रमेशप्रसाद पोखरेलविरुद्ध २० करोड ३८ लाख ९३ हजार ८२७ रुपैयाँ ६३ पैसा बिगो कायम गरी बिगोबमोजिम जरिवाना र बिगो असुलउपर गर्नुपर्ने माग दाबी लिएको छ ।

त्यस्तै, तत्कालीन सुरक्षण मुद्रण केन्द्रमा शाखा अधिकृत र हाल राष्ट्रिय समावेशी आयोगमा कार्यरत शाखा अधिकृत मनिकमान महर्जनविरुद्ध ३ करोड ४४ लाख ६८ हजार ७२९ रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना र बिगो असुलउपर हुनुपर्ने मागदाबी लिइएको छ ।

त्यस्तै, तत्कालीन सुरक्षण मुद्रण केन्द्रमा कार्यरत लेखा अधिकृतबाट सेवानिवृत्त रामबहादुर बुढाविरुद्ध १९ करोड ८८ लाख ९४ हजार २८९ रुपैयाँ ३२ पैसा बिगो कायम गरी बिगोबमोजिम जरिवाना र बिगोसमेत असुलउपर हुनुपर्ने मागदाबी लिइएको छ ।

त्यस्तै, शाखा अधिकृत शिरिष उपाध्यायविरुद्ध ४० करोड, १ लाख ३९ हजार ७३६ बिगो कायम गरी बिगोबमोजिम जरिवाना गरी बिगोसमेत असुलउपर हुनुपर्ने माग दाबी लिइएको छ ।

त्यस्तै, इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रालिका प्रबन्ध निर्देशक रोहितमान प्रधानविरुद्ध २३ करोड ४४ लाख ९६ हजार ९२१ रुपैयाँ ३२ पैसा, मेपटेक बिल्डिङ सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जनविरुद्ध ४३ करोड ५७ लाख ४२ हजार ३६८ रुपैयाँ र परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्रलाल गुरौविरुद्ध ८ करोड ६९ लाख ०९७ हजार ३८ पैसा बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

 

सम्बन्धित समाचार