काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रचण्डले आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्दा परराष्ट्रमन्त्रीमा एनपी साउद चयन भएका छन् ।
यस्तै, नेकपा एकीकृत समाजवादीकी नन्दा चपाईले राज्यमन्त्रीको शपथ लिइन् । उनलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
साउद र चपाइले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।
कञ्चनपुर २ बाट निर्वाचित साउद पार्टीभित्र सभापति शेरबहादुर देउवा निकट नेताको रुपमा चिनिन्छन् । साउद यसअघि सिँचाइमन्त्रीसमेत बनेका थिए । कांग्रेस केन्द्रीय सदस्य रहेका साउदलाई सभापति देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्को मन्त्रिपरिषद्मा कांग्रेसको तर्फबाट पाँचौं मन्त्रीको रुपमा पठाएका हुन् ।
वर्तमान सरकारमा साउदसहित कांग्रेसबाट पाँच जना मन्त्री बनिसकेका छन् । चैत १७ मा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री, प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री, नेताहरू रमेश रिजाल उद्योगमन्त्री र सीता गुरूङ सहरी विकास मन्त्री बनेका थिए।
१० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डले आइतबार आठौंपटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाएको छैन । प्रधानमन्त्रीसँग अझै पाँचवटा मन्त्रालय छन् ।