अहिलेसम्मकै ठूला भ्रष्टाचारी सार्वजनिक हुँदै
काठमाडौँ : भ्रष्टाचार निवारणका लागि स्थापना भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकालाई लिएर आलोचना हुँदै आइरहेको छ । खासगरी अख्तियार खरो उत्रन नसकेको धेरैको गुनासो छ । गोरखापत्रले आज भ्रष्टाचारीमाथि अख्तियार खरो रूपमा उत्रन लागेको लेखेको छ । समाचार अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले केही समयपछि अहिलेसम्मकै सबैभन्दा ठूला भ्रष्टाचारी सार्वजनिक हुने बताएका छन् । अख्तियारले अहिले अकुत सम्पत्ति कमाउने १४० जनाको अनुसन्धान गरिरहेको र यो अनुसन्धानपछि अहिलेसम्मकै सबैभन्दा ठूला भ्रष्टाचारीहरू सार्वजनिक हुने प्रमुख आयुक्त घिमिरेको दाबी छ । उनले छिट्टै ठूला भ्रष्टाचारी सार्वजनिक गरिने बताए पनि त्यसको मितिबारे भने केही खुलाएका छैनन् ।








