प्रचण्डविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दामा अदालतले अन्तरिम आदेश दिएन । साथै कारण देखाऊ आदेश जारी गरेको छ ।

शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा उक्त मुद्दाको सुनुवाइ भएको थियो । साथै, यसलाई अग्राधिकार भने दिएको छ ।

अधिवक्ता ज्ञानेन्द्रराज आरणलगायतले सर्वोच्चमा प्रचण्डविरुद्ध मुद्दा दर्ता गराएका थिए । तीन वर्षअघि प्रचण्डले सशस्त्र द्वन्द्वका समयमा मारिएकामध्ये ५ हजारको जिम्मा आफूले लिने भनेर दिएको अभिव्यक्तिका आधारमा सर्वोच्चमा मुद्दा दर्ता भएको हो ।
निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? मागबमोजिमको आदेश जारी हुन नपर्ने भए सो को आधार र कारणसहित बाटोको म्यादबाहेक १५ दिनभित्र प्रत्यर्थी नम्बर १ ले आफैँ वा कानुन बमोजिमको प्रतिनिधिमार्फत र अन्य प्रत्यर्थीहरूले महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नू, आदेशमा भनिएको छ ।

साथै निवेदकले अन्तरिम आदेशको माग गरेकामा सर्वोच्चले त्यसका लागि पर्याप्त कारण नरहेको भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

अन्तरिम आदेश जारी गरी पाउँ भन्ने निवेदन मागका सन्दर्भमा हेर्दा निवेदनमा मूलतः संक्रमणकालीन न्याय सम्पादनका सन्दर्भमा विचारणीय हुन आउने नेपालको संविधान र प्रचलित कानुनमा रहेका प्रावधान, यस अदालतबाट पटकपटक संक्रमणकालीन न्यायको विषय समावेश भएका विवादमा गरिएको व्याख्या र प्रतिपादित सिद्दान्त तथा अन्तर्राष्ट्रिय अभ्याससमेतका सन्दर्भमा हेरिनुपर्ने तथा व्याख्या र विश्लेषण गरिनुपर्ने सम्बन्धी प्रश्नहरू उठाइएको देखियो । यसप्रकारका कानुनी प्रश्नहरूको निरुपण पूर्ण सुनुवाइको अवस्थामा नै गर्नु मनासिब देखिन्छ । अहिले मागबमोजिम अन्तरिम आदेश जारी हुनेसम्मको पर्याप्त कारण नदेखिएको हुँदा निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गर्नु परेन, सर्वोच्चको आदेशमा भनिएको छ ।

सर्वोच्चले यो मुद्दामा उठाइएको विषय छिटो निरुपण गर्नुपर्ने प्रकृतिको देखिएको भन्दै यो मुद्दालाई अग्राधिकार दिने आदेश पनि दिएको छ ।

सम्बन्धित समाचार