कर्णालीका मुख्यमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको सम्पत्ति विवरण सार्वजनिक भएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा आइतबार मुख्यमन्त्रीको सम्पत्ति विवरण राखिएको छ। मुख्यमन्त्री शर्माले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।

मुख्यमन्त्री शर्माको अचल सम्पत्तिमा श्रीमती प्रतिभा केसीको नाममा दाङको लमही नगरपालिका-१ मा ३५७२ दशमलव ९१ वर्गमिटर जग्गा रहेको उल्लेख छन्। सो जग्गा पैतृक सम्पत्तिबाट आर्जन गरिएको उल्लेख छ।

रुकुमको चौरजहारी नगरपालिका-१४ मा बाबु चन्द्रप्रकाश शर्माको नाममा अन्दाजी ४ देखि ५ रोपनी र रुकुमपश्चिमकै वडा नम्बर २ मा २ हजार १२० वर्गमिटर आफ्नो नाममा रहेको उल्लेख गरेका छन्। यसको स्रोत पैतृक, कृषि आय र सेवा सुविधाबाट प्राप्त भएको उल्लेख छ।

मुख्यमन्त्री शर्माले सेवा सुविधाबाट प्राप्त नेपाल बैंक लिमिटेडमा ५ लाख नगद र अन्दाजी २ तोला सुन माइतीबाट प्राप्त भएको उल्लेख गरेका छन्।

लमही नगरपालिका-१ दाङमा कृषि तथा पशुधनमा अन्दाजी ३ लाख लागतमा ६०० बोट ड्रागन फल खेती गरिरहेको र उक्त खेतीबाट वार्षिक १५ देखि १६ लाखसम्म आम्दानी हुने मुख्यमन्त्री शर्माको सम्पत्ति विवरणमा उल्लेख छ। तर अन्य मन्त्रीको सम्पत्ति विवरण हालसम्म पनि सार्वजनिक भएको छैन।

सम्बन्धित समाचार