प्रधानमन्त्रीको निर्देशनपछि परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण रोकियो

काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालको जेनेभा भ्रमण रोकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि मन्त्री पौड्यालको भ्रमण रोकिएको हो ।

प्रधानमन्त्रीले नजानू भनेपछि आफ्नो जेनेभा भ्रमण रोकिएको मन्त्री पौड्यालले शिलापत्रलाई जानकारी दिइन् । प्रधानमन्त्रीज्यूले मलाई जेनेभा नजानू भन्नुभयो, पौड्यालले भनिन्, सोही कारण मेरो जेनेभा भ्रमण रोकिएको हो ।

मन्त्री पौड्याल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को बैठकमा भाग लिन आज जेनेभा जाने कार्यक्रम थियो । तर, अन्तिम समयमा आएर प्रचण्डले उनको भ्रमण रोकिदिएका हुन् ।

पुस १० मा बनेको सत्ता समीकरणमार्फत पौड्याल एमालेको तर्फबाट परराष्ट्रमन्त्री बनेकी हुन् । तर, राष्ट्रपतिको निर्वाचनसम्म आइपुग्दा माओवादी केन्द्र, नेपाली कांग्रेसलगायत ८ दलको अर्को गठबन्धन बनेको छ ।

उक्त गठबन्धन बनेसँगै एमाले र माओवादी केन्द्रको सम्बन्ध चिसिएको छ । सोही कारण प्रचण्डले पौड्यालको भ्रमण रोकिदिएको स्रोतको दाबी छ ।

सम्बन्धित समाचार