काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको उम्मेदवारबारे एक दुई दिनभित्रै सहमति हुने दाबी गरेका छन् । शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा वार्ता गरेपछि प्रचण्डले यस्तो दाबी गरेका हुन् ।
उनले सत्ता गठबन्धन नभत्किनेसमेत बताएका छन् । उनले मिलेरै अगाडि बढ्ने भन्दै गठबन्धन भत्किने र छुट्ने कुरै नभएको बताएका छन् । तर, ओलीसँग के कुरा भयो भन्ने विषयमा भने उनले केही खुलाएनन् ।
राष्ट्रपति उम्मेदवारको मनोनयन दर्ता यही फागुन १३ गते गर्ने कार्यतालिका छ । त्यसअघि नै उम्मेदवारको टुंगो लगाउन दलहरूबीच तीव्र छलफल चलिरहेको छ । सत्ता गठबन्धनका दुई प्रमुख नेता प्रचण्ड र ओलीबीच लगातार भेटवार्ता भने भइरहेको छ ।
माओवादीले सार्वजिक रुपै राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएको छ भने एमालेले आफ्नो पार्टीबाट राष्ट्रपति हुनुपर्ने बताउँदै आएको छ । वर्तमान सत्ता गठबन्धन एक ढिक्का रहे यही गठबन्धनको समर्थन पाउने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने पक्का छ । तर गठबन्धन भत्किए चुनाव जसले पनि जित्न सक्छ ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर कांग्रेसले राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रलाई आफ्नो कित्तामा तान्ने प्रयास थालेको थियो । अहिले पनि कांग्रेसले सो प्रयास जारी राखेको छ । राष्ट्रपति कांग्रेसबाट भए प्रचण्ड पाँचै वर्ष प्रधानमन्त्री हुने कांग्रेसले सार्वजनिक रुपमै बताएको छ ।