काठमाडौं । तत्कालीन नेकपा माओवादीले २०५२ सालमा ‘जनयुद्ध’ सुरु गरेको सोमबार ९आज० २७ वर्ष पूरा गरेर २८ औँ वर्षमा प्रवेश गर्दैछ । माओवादी युद्धले धेरैको जीवनमा आँधीबेहरी ल्याएको छ । ‘जनयुद्ध’काल कसैका लागि आशा र कसैका लागि त्रासको समय बन्यो । कसैका लागि जीवनभरि बल्झने घाउ बन्यो । संंयोग, त्यतिबेला सो सशस्त्र युद्धको नेतृत्व गरेका पुष्पकमल दाहाल प्रचण्डले अहिले देशकै नेतृत्व गरिरहेका छन् ।
केही वर्षपहिला आँखाबाट आँसु झार्दै शिलापत्रसँग नरवीर दमाईंले भनेका थिए, ‘हिजोको पीडित वर्ग आज पीडक वर्गमा परिणत भएको छ । सत्तामा आएका छन् तर हाम्रा दुःखपीडा सुन्दैनन्, बुझ्दैनन् । तीनपटक झुण्डिएर र एकपटक मेटासिड खाएर आत्महत्या गर्ने प्रयास पनि गरेँ । तर किन हो किन अहिलेसम्म मर्नै सकिनँ ।’
कसैका लागि जनयुद्धु वर्ग उत्थानको माध्यम बनेको छ । कसैका लागि अहिले पनि कहालीलाग्दो, अत्यास लाग्दो र बल्झिरहने घाउ बनेको छ ।
त्यही माओवादी जनयुद्धु लडेका अथवा युद्धमा सामेल भएकाहरू आज कोही सडकमा औषधि नपाएर मृत्युवरण गरिरहेका छन् । कोही अहिले पनि न्यायका लागि आन्दोलन गर्दैछन् । कोही बेपत्ता आफन्तहरूको खोजी हुनुपर्ने मागपत्र बोकेर सिंहदरबार धाइरहेकै छन् ।
कोही सरकारको नेतृत्व गर्दै अझै सपनाको व्यापार गरिरहेका छन् । कोही घाइते जीवनमा उपचार नपाएर तड्पिरहेका छन् । माओवादीले जनयुद्धु सुरु गर्दा समानता, समतामूलक न्याय, अधिकार, जातीय छुवाछुतको अन्त्य, महिलाका अधिकार, क्षेत्रीय असमानता आदिजस्ता धेरै अन्याय अत्याचारको अन्त्य हुने उद्घोष गरेको थियो ।
आममानिसले सुनेका थिए, माओवादी समानताका लागि युद्ध लड्दै छ । युद्धपछि अथवा माओवादी पार्टी सत्ता आएपछि आमजनताले अत्याचार भएको देख्न, सुन्न र भोग्नुपर्दैन । शिक्षा स्वास्थ्यजस्ता आधारभूत कुराका लागि मात्र जीवन घोट्नुपर्दैन । यिनै कुराले साधारण मानिसलाई युद्धको भेलमा हाम फाल्न प्रेरित गरेको थियो ।
१० वर्षे जनयुद्धुले प्रभावित नभएका कुनै गाउँ कुनै टोल रहेनन् । कतिपय प्रत्यक्ष युद्धमा होमिए त कतिपयको जीवनमा युद्धको अप्रत्यक्ष प्रभाव पर्यो । त्यस्तै, युद्धबाट प्रभावित भएकामध्येका एक हुन्, सुर्खेतका अर्जुनकुमार कटुवाल ।
युद्ध सुरु हुँदा विद्यार्थी थिए । त्यसैबेला पुरानो राज्यसत्ता परिवर्तन गरेर नयाँ राज्यव्यवस्था निर्माण गर्ने सपनाको यात्रामा बुढा सहभागी भए । हेर्दाहेर्दै नयाँ समतामूलक राज्यव्यवस्था निर्माण गर्ने सपनाको लाममा कटुवाल पनि मिसिए ।
त्यहीँबाट सुरु भयो जीवन कटुवालको जीवनको नयाँ यात्रा । जनयुद्धुमा लाग्दा युवा अवस्था थियो । त्यो समयमा कटुवालले देखेका सपनाहरू अहिले दन्ते कथाजस्ता भएका छन् । उनले देखेका सपना राज्यसत्तासँग जोडिएका थिए ।समाजसँग जोडिएका थिए । ती अहिले राजनीतिक रूपमा सफल भए पनि आर्थिक र सामाजिक रूपमा अझै पूरा हुन बाँकी रहेको उनको ठम्याइ छ ।
कटुवाल भन्छन्, ‘मुलुक गणतन्त्रमा गएको छ । नागरिकका हकअधिकार स्थापित भएका छन् । संघीयता, धर्मनिरपेक्षता लागू भएको छ । समावेशी समानुपातिक राज्य प्रणाली आएको छ । धेरैले अधिकार पाएका छन् । तर, जनयुद्धका घाइते अपाङ्गहरू र बेपत्ताका परिवारको अवस्थामा खासै परिवर्तन आएको छैन । आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्दा आस लाग्छ तर पूरा हुँदैनन् ।’
राज्यका हरेक अंगमा जाति जनजाति, दलित महिलाहरू पुगेका छन् । संविधानमा नागरिकका धेरै हक अधिकार सुनिश्चित भएका छन् । वर्षौंदेखि जनताद्वारा संविधान लेख्ने सपना यही आन्दोलनको जगमा सफल भएको माओवादी नेताहरूको भनाइ छ ।
कटुवालले पनि विद्यार्थीले संगठनमा लागेपछि नजिकबाट माओवादीको बानी व्यहोरा देखेका थिए । उनी झन् बढी प्रभावित भए । माओवादीले देखेका र देखाइएका सपनाहरू उनका पनि सपना थिए । त्यही सपनाको यात्रामा उनी पनि हिँडे ।
२०५९ सालमा खाराको युद्धमा घाइते भए । दायाँ खुट्टाको तिघ्रामा बुलेट वारपार भयो । २०६० सालमा बाँकेको कुसुममा भएको भिडन्तमा टाउको र ढाडमा गोलीका छर्रा लागे । जुन छर्रा अहिले पनि छन् । २०६१ सालमा बाँकेकै रम्भापुरमा भएको लडाइँमा दुवै खुट्टा हिँड्न नमिल्ने गरी गोलीको सिकार भए ।
अहिले उपचार गरेर सामान्य हिँडडुल गर्न सक्ने भएका छन् । तर, उनले औषधिबाट छुटकारा भने पाएका छैनन् । उनले सधैँ औषधि खाइरहनुपर्छ । उनी भन्छन्, ‘२०५२ बाट सुरु भएको जनयुद्धले व्यवस्था बदल्यौँ तर अवस्था बदलिएन । घाइते, अपाङ्ग, शहीद परिवार र बेपत्ता परिवारको अवस्था उस्तै छ । समृद्धिको सपना पूरा गर्नकै लागि जनयुद्ध भएको थियो । तर यहाँ त्यस्तो हुन सकेन । जसका कारण माओवादी जनयुद्धमा लागेका धेरैजसोको अवस्था अहिले मजदुरी गरेर खानुपर्ने छ । नेताका छोराछोरी निजी स्कुलमा पढ्छन् । तर, हाम्रा छोराछोरी सामुदायिक स्कुलमा पनि पढ्न सक्ने अवस्था छैन । यहाँभित्र पनि एक वर्ग हुने खाने भयो । अर्को वर्ग मजदुरी गरेर पेट पाल्ने भयो ।’
शान्ति प्रक्रिया आएपछि पटक–पटक माओवादीले सरकारको नेतृत्व गरेको छ । तर, अहिले नेतृत्व पुराना साथीलाई बिर्सिएर पूरै सत्ताको खेलमा रुमल्लिएको देखिन्छ । अप्ठेरो पर्दा पुराना साथीलाई सम्झने अनि अरु बेला सत्ताको खुसमा रमाउने प्रवृत्ति नेतृत्वमा देखा परेको युद्धमा होमिएकाहरूको गुनासो छ ।
नेतृत्व भने अहिले हिजोको प्रतिबद्धता, त्याग र तपस्याबाट बेखबर बनेको जस्तो देखिएको माओवादी ुजनयुद्धुका घाइते जयबहादुर न्यासुर बताउँछन् । २०५७ सालमा माओवादीको पूर्णकालीन कार्यकर्ता बनेका थिए उनी ।
साहुको र गाउँका गरिबहरूको अवस्था देखेर उनी माओवादी भएको बताउँछन् । अन्याय, अत्याचार यति धेरै थियो कि जसको वर्णन गर्न सकिँदैन तर अहिले माओवादीको व्यवहार हेर्दा तिनै साहु महाजनको जस्तो भएको उनी बताउँछन् ।
माओवादीले २१ चैत, २०६१ बाट १० दिने आमहडताल आह्वान गरेको थियो । उनी मकवानपुरको हेटौँडामा थिए । त्यहीअनुसार हेटौँडाको कमानेमा कार्यक्रम गर्दै थिए । उनले आफैँले बोकेको बम विस्फोट भयो र उनी घाइते भए । उनका दुवै हात र दुवै आँखा गुमे ।
उनी अहिले अर्काको सहारामा हिँडडुल गर्छन् । अर्काले नै खुवाइदिनुपर्छ । उनलाई त्यो समयमा ७०–८० हजार रुपैयाँ जति उपचार खर्च पार्टीले दिए पनि त्यसपछि कसैले हेरेन । उनी घरपरिवारको सहारामा बाँचिरहेका छन् । आफ्नै खर्चमा अहिले पनि उपचार गराउँदैछन् ।
जनयुद्धुमा हुँदा उहाँहरूको विचार अर्कै थियो, व्यवहार समान थियो । उहाँहरूको स्पिड अर्कै थियो । अहिले खुला राजनीतिमा आएपछि नेताहरू महँगो महलमा बस्ने र पजेरो चढेर हिँड्ने गरेका छन्,। उनले भने, ‘हिजोको जस्तो अवस्था न पार्टीको छ न नेताको । यो पार्टीभित्र नेताको अवस्था एक, हामीजस्ता कार्यकर्ताको अवस्था अर्कै भएको छ । हामीजस्ता घाइते सहयोद्धाहरूको पीडा सुन्ने फुर्सत नेतासँग छैन । जो फटाहा छन्, जो ठेकेदार छन्, उनीहरूसँग भेट्न र समय दिन हाम्रा नेताहरू आतुर छन् तर हाम्रा लागि समय दिन फुर्सत नै छैन । सहयोग गर्न चाहँदैनन् । हामीजस्तालाई त भेट्न नपरोस् भन्ने सोच्छन् होला सायद । हामीजस्ता कार्यकर्ताहरूलाई अहिले दैनिक जीवन चलाउनै समस्या छ । जनयुद्धमा घाइते भएको म, उपचार पनि आफ्नो पुर्ख्यौली सम्पत्ति बेचेर गर्नुपरिरहेको छ । यस्तो हुँदा पीडा त हुन्छ नै ।’
घाइते शरीरमा भएको गोली ननिकालिएकै कारण क्यान्सर भएर केही माओवादी लडाकुको मृत्यु नै भएको छ । कालीकोटका नन्दलाल योगी र रत्नबहादुर बुढासहित ४८ जना अहिले ह्वील चियरमा यताउता गर्छन् । अर्कोको सहारामा बाँच्नुपर्नेहरू त १ हजारभन्दा बढी रहेको न्यासुर बताउँछन् ।
समानताका कुरा सुनेर माओवादी भएका न्यासुर अहिले त्यही असमानताको वर्गीय विभेद बढी भोग्नुपरेको गुनासो गर्छन् । अहिले उनलाई परिवर्तनको लडाइँ लडेकोमा कुनै पछुतो त छैन । तर, आफूले सम्मान, विश्वास गरेको नेतृत्वले धोका दिएकोमा भने निकै दुस्ख लाग्ने गरेको उनी बताउँछन् ।
सपनाभन्दा पनि वस्तुगत यथार्थ भएकाले आफू पनि डाक्टरको पढाइ छोडेर माओवादी आन्दोलनमा होमिएको बताउँछन् नौमुले गाउँपालिकाका अध्यक्ष छवि सुवेदी । एमबीबीएसको पढाइ सकिन ६ महिना मात्र बाँकी हुँदा उनी कलेज छोडेर माओवादी जनयुद्धुमा होमिएका थिए । छवि भन्छन्, ‘सबैको सामूहिक हितका लागि व्यक्तिगत हित नै त्यागेँ । गरिब, किसान, मजदुर वर्गको राज्यव्यवस्था आउने आशा थियो । तर, अहिले सोचेजस्तो पूर्ण रूपमा नभए पनि आंशिक रूपमा भने भएको छ ।’
नेता कार्यकर्ताहरू अहिले वर्गभन्दा पनि व्यक्तिगत स्वार्थका लागि बढी प्रेरित भएका छन् । जनयुद्धुका घाइते, अपाङ्ग, शहीद परिवारसँग एकाकार हुनुपर्ने हो । तर, त्यो हुन सकेको छैन । भावनात्मक सम्बन्ध कमजोर भएको छ । सुरुका सपनाहरू कलिला थिए, अहिले लौरो टेक्ने भइसकेका छन् । जनयुद्धुको सुरुवातमा जनताका बीचमा थिए नेताहरू । अहिले कामका कारण होला शहरकेन्द्रित भएका छन्, जसका कारण जनतासँगको सम्बन्धमा कमी आएको सुवेदी बताउँछन् ।
माओवादी अहिलेको अवस्थामा आउनुका कारणमा केही बाह्य भए पनि प्रमुख कारण आफैँ भएको उनको दाबी छ । माओवादी आमरूपमा यस्तो अवस्थामा आउनमा नेतृत्व नै प्रमुख जिम्मेवार भएको नेता कार्यकर्ताहरू बताउँछन् ।