नागरिकमा तलब ठप्प, पत्रकारको बिजोग

नेपाल रिपब्लिक मिडिया प्रालिले सञ्चालन गरेको नागरिक दैनिकका पत्रकार तलव नपाएका कारण कोरोना महामारीका बेला भन्दा यतिबेला झन् चर्को मारमा परेका छन् । २०७९ कात्तिक यता चार महिनाको तलव नपाएको गुनासो त्यहाँ कार्यरत श्रमजीवी पत्रकारको छ । चार महिनाको तलव नपाउँदा समाचार सङ्कलन र सम्प्रेषणमा खटिन समेत नसक्ने अबस्था आएको गुनासो गर्छन् ।

‘२०७९ माघ कटेसी तलव नपाएको चार महिना पुग्छ । दशैं यता पैसाको मुख देख्न पाइएको छैन । बाहिर भन्न पनि लाजैमर्नु छ,’ नागरिक दैनिकमा कार्यरत एकजना पत्रकारको गुनासो छ, ‘दैनिक घरखर्च चलाउन र परिवार धान्नै समस्या परेको छ । घरबेटीका अघि मुख देखाउन पनि लाजै भइसक्यो । हरिविजोग अवस्थामा छौं ।’ ती पत्रकारले समयमा तलव नपाएका कारण अरु मिडियामा कार्यरत साथीभाइसँग ऋण लिएर काम चलाउनुपर्ने अवस्थाबाट गुज्रिरहेको गुनासो पनि पोखे । मालिकहरुको रवैयाका कारण नागरिकमा कार्यरत विशुद्ध श्रमजीवी पत्रकारमा यतिवेला चरम निरास छाएको छ । ‘श्रीमती र छोराछोरी सामान्य विरामी हुँदा पनि उपचार पाउन नसक्ने चरम गरिबी छाएको छ,’ नागरिक दैनिकमा लामो समय काम गरेका पत्रकार यसरी आफ्नो आर्थिक दुरावस्था दर्शाउँछन्, ‘यस्तै अवस्था बढ्दै गए नून किन्न पनि नसकिने स्थिति आउने देखिन्छ ।’

दिनभर दुईतीनतिर काम गरेर थकान र गलित शरीर लिएर बेलुकातिर झुल्कने टुरिष्ट सम्पादक, पत्रकारहरुका लागि भने नागरिक दैनिक ‘आए आँप गए झटारो’ बनेको छ । टुरिष्ट पत्रकारहरु मौन बसिदिने कारणले नागरिकमा मात्र भर पर्नुपर्ने वास्तविक पत्रकारका लागि गुजारा गर्न  धौःधौ परेको अवस्था छ । चरम संकटमा फसकेका श्रमजीवी पत्रकारले दबाब दिएर तलब झर्ने अवस्था आए तिनै टुरिष्ट पत्रकार चाँडो तलव थाप्न तम्सिने गरेको किस्सा त्यहाँ कार्यरत श्रमजीवी पत्रकारहरु सुनाउँछन् ।

यस्तो ‘क्रोनिक’ समस्या हुँदा पनि नागरिक दैनिकका समस्यामा प्रधान सम्पादक ‘किंकर्तव्यविमुढ’ देखिएको पत्रकारको गुनासो छ । यता नेपाल पत्रकार महासंघले पनि अझैसम्म पत्रकारलाई गुहार दिएको छैन । महासंघ टुलुटुलु हेरेर बसेको भन्दै नागरिकका श्रमजीवी पत्रकारको चित्त दुखाई छ । दुई बर्षअघि पनि पारिश्रमिक नपाएको भन्दै पत्रकार सुविद गुरागाईं पाँच दिने सत्याग्रहमा बसेका थिए । महासंघ कडा ‘एक्सन’ मा नगए आगामी दिन नागरिकका पत्रकारका लागि झन् जटिल हुने देखिएको बताइन्छ ।

 

सञ्चार गृहका मालिकले पहिला कमाएर राखेको सम्पत्ति सञ्चारगृह सञ्चालन गर्न लगानी नगरेको, अन्यत्रै लगानी गरेको भनाई त्यहाँ कार्यरत पुराना पत्रकारको छ । ‘मालिकले हिजो कमाएको अहिले खर्च गर्नुपर्नेमा अन्यत्रै लगानी गरेका कारण श्रमजीवी मर्नु न बाँच्नुको अवस्थामा पुगेका छन् । अझैसम्म पनि कोरोनाको निहुँ बनाएर श्रमजीवी पत्रकारलाई रेट्ने काम भइरहेको छ,’ नागरिकका अर्का पत्रकारको भनाई छ ।

‘चार महिना भइसक्यो । तलब नपाएको कुरा सार्वजनिक गरौँ, लाउकेहरुले झन् पेल्लान् भन्ने डर, चुप लागेर काम गरौं मनभित्र आर्थिक अभावको राँको छ,’ ती श्रमजीवी  पत्रकार भन्छन्, ‘पैसा माग्दा मालिकका लाउकेहरुले पहिले राजीनामा लिएर आउनुस्सम्म भने ।’ नागरिक मिडियामा श्रमजीवी पत्रकार ऐनले तोके अनुसारको सेवा, सुविधा र सर्तको कुनै पालना भएको छैन । सञ्चारगृहभित्र श्रमजीवी पत्रकार ऐन, २०५१ (पहिलो संशोधन २०६४) को कार्यान्वयनको दुरावस्था छ । विगतमा पनि यस्तै दुरावस्था आएपछि नेपाल रिपब्लिका मिडिया प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशकलाई नागरिकमा कार्यरत पत्रकारले ज्ञापनपत्र पनि थमाएका थिए । सेवा, सुविधा वृद्धि त परै जाओस् पाकेको तलव समेत नपाउने विडम्वना छ ।

सम्बन्धित समाचार