काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका सच्चा कम्युनिस्टहरू पुनः ध्रुवीकरण हुने बताएका छन् ।
आइतबार बेलुका विभिन्न देशका कम्युनिस्ट, वामपन्थी तथा समाजवादी पार्टीका प्रतिनिधिहरूसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलन उतारचढावका बीच अगाडि बढेको बताउँदै सच्चा कम्युनिस्टहरूको एकताका निम्ति आफूले पहल गरिरहेको बताए।
फेब्रुअरी १ देखि ५ गतेसम्म विभिन्न देशका कम्युनिस्ट, क्रान्तिकारी, वामपन्थी र समाजवादी पार्टीका प्रतिनिधिहरूको नेपालमा भएको अन्तर्राष्ट्रिय जनसभापछि उनीहरूले प्रधानमन्त्रीसँग भेट गरेका थिए।
भेटका क्रममा प्रधानमन्त्रीले नेपालको क्रान्ति र शान्ति प्रक्रिया विश्वकै लागि नयाँ र मौलिक भएकोमा जोड दिँदै जनताका प्रतिनिधिहरूले निर्माण गरेको नयाँ संविधानले क्रान्तिका महत्वपूर्ण कार्यभारहरू सम्वोधन गरेको बताए।
नेपालमा भएको क्रान्ति, शान्ति प्रक्रियाको विश्वव्यापी महत्त्व रहेकोमा जोड दिँदै प्रधानमन्त्रीले आफ्नो नेतृत्वको सरकार जनताका अपेक्षा सम्बोधन गर्न प्रयत्नशील रहेको जानकारी गराए।
प्रधानमन्त्रीले आफूहरूकै पहलमा नेपालका कम्युनिस्टहरूको एउटै केन्द्र बनेको स्मरण गर्दै कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न, समाजवादको आधार तयार पार्न र जनअपेक्षा सम्वोधन गर्न निरन्तर प्रयत्न हुने प्रतिबद्धता व्यक्त गरे। उनले नेपालको रुपान्तरणकारी आन्दोलनको नेतृत्व गर्ने ऐतिहासिक अवसर पाएको र सो कुरा विश्वभरिकै परिवर्तनका पक्षधर शक्तिहरूका निम्ति प्रेरणा हुनेसमेत दाबी गरे।
भेटमा क्युवा, भेनेजुएला, ब्राजिल, चीन, घाना, दक्षिण अफ्रिका, मोरक्को, बंगलादेश, इटाली, स्पेन लगायतका देशका कम्युनिस्ट एवं वामपन्थी पार्टीका प्रतिनिधिहरू उपस्थित थिए।