हुम्ला बाट नेपालगञ्ज जाँदै गरेको भे १ ख ३५१८ नम्बरको ट्रकले दैलेखेको सिम भन्ने ठाउँमा ठक्कर दिँदा दैलेख आठबिस नगरपालिका–४ का ५५ वर्षीय तिलक माझीको मृत्यु भएपछि स्थानीयले कर्णाली राजमार्ग बन्द गरेका छन्।
शुक्रबार बेलुकी सवा ६ बजे बन्द भएको कर्णाली राजमार्ग अहिलेसम्म नखुल्दा हजारौँ यात्रु अलपत्र परेका छन्। राजमार्ग अवरुद्ध हुँदा आफूहरू गन्तव्यमा पुग्न नसकेको खानेपानी‚ सिँचाइ तथा ऊर्जा विकास कार्यालय कालीकोटका प्रमुख मंगल शाहीले बताए।
त्यस्तै, कालीकोटको महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले शुक्रबार साँझ ७ बजेबाट आफू पनि टुनिबगरमा रहेको र सडक खुलाउनेतर्फ प्रहरीले खासै चासो नदिएको गुनासो गरे।
प्रहरीले कालीकोट जुम्ला, मुगुतर्फ आउने गाडीलाई दैलेखेको पाल्तडा, टुनिबगरमा रोकेर राखेको छ। आठबिस नगरपालिका प्रमुख तर्क बडूवालले ट्रक साहुलाई बोलाएर मृतक परिवारलाई राहत उपलब्ध गराउने विषयमा छलफल भइरहेको बताए। छलफलपछि सडक खुल्ने प्रमुख बडूवालले बताए।
दैलेख प्रहरी प्रमुख डिएसपी भुवनेश्वरप्रसाद यादवले स्थानीयको आक्रोश बढिरहेकाले सुरक्षा अवस्थामा समेत चुनौती रहेको भन्दै स्थानीय जनप्रतिनिधिसँग छलफलपछि समस्याको समाधान गराउने प्रयास जारी रहेको भए पनि सफल हुन नसकेको जानकारी दिए।