काठमाडौं । देवराज घिमिरे प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएका छन् ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले घिमिरे सभामुखमा निर्वचित भएको घोषणा गरे । प्रतिनिधिसभामा आज भएको मत विभाजनमा घिमिरेको पक्षमा १६७ मत परेको राणाले जानकारी दिएका छन् ।
ज्येष्ठ सदस्य राणाका अनुसार आज भएको मत विभाजनमा २६८ सांसद उपस्थित थिए । त्यसमध्ये १०० सांसदले घिमिरेको विपक्षमा र १ सांसदले मत दिन्न भन्ने पक्षमा मत जाहेर गरेको राणाले जानकारी दिएका छन् ।
नेकपा एमालेका सांसद घिमिरे सुवास नेम्वाङको प्रस्ताव तथा माओवादी केन्द्रका हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र राप्रपाका राजेन्द्र लिङ्देनको समर्थनमा सभामुखको उम्मेदवार बनेका थिए ।
त्यस्तै नेपाली कांग्रेसले ईश्वरीदेवी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाएको थियो । कांग्रेस सांसद विश्वप्रकाश शर्मा को प्रस्ताव र एकीकृत समाजवादीका प्रकाश ज्वालको समर्थनमा न्यौपाने सभामुखको उम्मेदवार बनेकी थिइन् ।