काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक भएको छ ।
उक्त बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस प्रतिपक्षी दल पनि बन्न नसकेको टिप्पणी गरेका थिए । ओलीले सत्ता गठबन्धनमा रहेका दलहरूबीच सहमति भइसकेको विषयमा कांग्रेसले खेल्न खोजेको टिप्पणी गरेका थिए । त्यसपछि कांग्रेस नेता रमेश लेखकले उनको प्रतिवाद गदै आफूहरुले सत्ताको लागि विश्वासको मत नदिएको बताए ।
‘तलदेखी माथिसम्म कसरी जाने भन्ने हाम्रो सहमति भइसकेको छ । सबैतिर विश्वासको मत दिइरहनुभएको छ,’ ओलीले सर्वदलीय बैठकमा भनेका थिए, ‘सत्ताको लागि नखेल्नुस् । तपाईंहरू प्रतिपक्ष पनि बन्न सक्नुभएन ।’
ओलीले बैठकमा यस्तो टिप्पणी गरेपछि कांग्रेस नेता लेखकले त्यसको जवाफ फर्काएका थिए । प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिलाई बुझाएको पत्रमा आफूहरूको हस्ताक्षर नभएको आफूहरूले सत्ताका लागि नखेलेको उनको भनाइ थियो । लेखकले ओलीलाई संविधान बचाउनका लागि प्रचण्डलाई विश्वासको मत दिएको जवाफ फर्काएका थिए ।
‘राष्ट्रपतिलाई बुझाएको पत्रमा हाम्रो हस्ताक्षर छैन । त्यसैले हामी प्रतिपक्षी हौँ । हामीले खेलिरहेका छैनौँ,’ लेखकले ओलीलाई जवाफ फर्काएका थिए, ‘राष्ट्रिय सहमतिको पक्षमा छौँ । संविधान बचाउन र मुलुकको आवश्यकताअनुसार विश्वासको मत दिएका हौँ ।’
ओलीले कांग्रेसलाई राष्ट्रपति दिन नसकिने भन्दै आफूहरूले सबै पदमा सहमति गरिसकेको बताएका थिए । ‘राष्ट्रपति तपाईंहरूलाई दिन सकिँदैन । हामीले १० गते २ बजे सबै सहमति गरिसकेका छौँ,’ ओलीले बैठकमा भनेका थिए, ‘सहमति हुँदैन । कांग्रेसले दाउ नथापे हुन्छ ।’
सर्वदलीय बैठकमा जनमत पार्टीबाट सहभागी भएका अब्दुल खानले भने प्रधानमन्त्रीले सहमति तोडेको गुनासो गरेका थिए । उनले सुरुमै आफूहरूले मागेको मन्त्रालय नपाएको भन्दै गठबन्धन धरापमा पर्ने टिप्पणी गरेका थिए ।
खानको गुनासोमा जवाफ दिँदै प्रचण्डले सहमतिमै मन्त्रालय भागवण्डाको टुंगो लगाएको बताएका थिए ।
सर्वदलीय बैठकमा सहभागी स्वतन्त्र सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्रीले वर्तमान संविधान नमान्नेलाई नै उपप्रधानमन्त्री बनाएको भन्दै आपत्ति जनाएका थिए । सोही कारण संविधान तलमाथि परे त्यसको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले लिनुपर्ने सिंहको टिप्पणी थियो ।
सिंहले चेतावनी दिएपछि प्रचण्डले बैठकबाहिर आएर उनीसँग गुनासो पोखेका थिए । बैठकबाहिर आएर प्रधानमन्त्री प्रचण्डले सिंहलाई तपाईंले मेरो बारेमा बैठकमा त्यस्तो कुरा नगर्दिनुभए हुन्थ्यो भनेका थिए ।