प्रदेश सांसदले भने स् पथरीमा निर्धक्क हिँड्न नसक्ने दिन आयो

विराटनगर । प्रदेश १ को प्रमुख प्रतिपक्ष दलका सांसदले मोरङको पथरी आसपासको क्षेत्रमा श्रृङ्खलाबद्ध रुपमा आपराधिक घटना भइरहेको भन्दै शान्ति सुरक्षा कायम गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रदेशसभाको बिहीबारको बैठकको विशेष समयमा कांग्रेसका सचेतक सूयर्माराज राईले पथरी, कानेपोखरीआसपासको क्षेत्रमा निर्धक्क हिँडडुल गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
पथरी र आसपासको क्षेत्रमा लास भेटिने तर प्रहरीले आत्महत्या र भवितव्य भन्दै पन्छने गरेको आरोपसमेत लगाए ।
गत शुक्रबार पथरीमा भेटिएको रिना बस्नेतको लास पनि भवितव्य भन्दै प्रहरी पन्छन खोजेको सांसद राईले बताए । पथरीमा रिना बस्नेतको रहस्यमय मृत्युको घटना प्रति सरकार गम्भीर नभएको पनि उनले आरोप लगाए ।
पथरीमा स्थानीय तहका जनप्रतिनिधिको प्रयासमा आन्दोलन केही दिनलाई रोकिएको भए पनि प्रहरीले सत्य तथ्य बाहिर नल्याए झनै ठूलो आन्दोलन हुन सक्ने खतरा राईले औंल्याए ।
त्यसैगरी इलाका प्रहरी कार्यालय पथरीमा प्रहरी नायव उपरीक्षकको दरबन्दी कायम गराउन पनि प्रदेश सरकारसंग माग गरेका थिए । बिहीबारको प्रदेशसभा बैठकमा प्रदेश खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक सर्वसम्मतिले पारित गरेको छ ।

सम्बन्धित समाचार