काठमाडौं । एमाले छाडेर स्वतन्त्र चुनाव लडेका नेता घनश्याम भुसालले एमालेले जनमत पाएको भएमा फेरि संसद विघटन गर्ने दाबी गरे। आज माधव नेपाल
नेतृत्वको एकीकृत समाजवादीमा प्रवेश गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले एकतिर हलो र अर्कोतिर घण्टी राखेर बालकोट शासन चलाउन खोजेपनि बताए ।
सैद्धान्तिक रुपमा समाजवादतिर जानका लागि नेकपा बनाएपनि पार्टी विभाजन गराइएको आरोप लगाए । षड्यन्त्रपूर्ण राजनीति र विकाउपूर्ण अदालतको गठबन्धनले नेकपा विभाजन गराएको बताए ।
उनले भने, ‘अहिले पनि एमालेले राम्रो मत पायो भने एमाले नेतृत्वले संसद विघटन गर्छु भनेर अस्ति प्रतिनिधि सभामा भनिसकेका छन् । यो गलत कुरा होइन पायोभने हामीले गर्छु भन्या न हो ।’
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भुसालले ओलीमाथि निर्मम आरोप पनि लगाए । भुसालले नेकपा एक असाध्यै राम्रो ठाउँमा रहेको र ओलीवादविरुद्ध विद्रोह गरेको हुनाले आफूले नेकपाको खास उत्तराधिकारीका रुपमा ग्रहण गरेको बताए ।
ओलीबारे टिप्पणी गर्दै भुसालले भने ‘ओलीवाद, ओली विचार र ओली संगठनसँगको विचाराधारात्मक संघर्षपछि मैले नेकपा एसमा आफ्नो सदस्यता नवीकरण गरेको हुँ । त्यहाँ एमालेमा संगठन कस्तो हुन्छ भन्दा सौराहा काण्ड देखिएकै हो । सिद्धान्त के हो भन्दा राज्य र पार्टी सबै मेरा चाकर हुन् । विचार के हो भन्दा सर्वत्र म । ज्ञान, विज्ञान र तर्कमाथि ओलीवाद हाबी भएका कारण कम्युनिस्ट आन्दोलन अप्ठेरोमा परेको हो ।’
भुसालले केपी ओलीका कारण मुलुकले दुःख पाएको भन्दै अब नेकपा एस कसैको विशेषाधिकार नभएको लोकतान्त्रिक पार्टी बन्ने बताए । उनले ओलीले राजनीतिलाई षडयन्त्र र झुट फरेबी हो भन्ने ठाउँमा पुर्याएको आरोप लगाए ।
भुसालले ओलीमाथि संविधानविरोधी, लोकतन्त्र विरोधी, सिद्धान्त र विचार विरोधी, तर्क र विज्ञानको विरोधी, असहिष्णुजस्ता आरोपहरु लगाउँदै एमालेमा अब सौराहा काण्डवादीहरुमात्र रहेको बताए ।