काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका प्रदेशसभाका संसदीय दलका नेता राजेन्द्रसिंह रावल नियुक्त भएका छन् ।
आज प्रदेश सभाका २९ सांसदको समर्थनसहित उनले मुख्यमन्त्रीको दाबी पेस गरेका थिए ।
रावलले दाबी पेस गरे लगतै प्रदेश प्रमुख देवराज जोशीले रावललाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
रावलले एमालेसँगै माओवादी केन्द्र र नागरिक उन्मुक्ति र राप्रपाका गरी २९ सांसदको समर्थन पाएका छन् । ५३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ । मुख्यमन्त्री रावलले एमालेका १०, माओवादी केन्द्रका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपा १ सांसद गरी २९ जनाको समर्थन पाएका छन् । अब ३० दिनभित्र रावलले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुपर्नेछ ।
केन्द्रमा सुदूरपश्चिम सरकारको नेतृत्व एमाले र माओवादीले आलोपालो गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार एमालेले मुख्यमन्त्री दाबी गर्दा सभामुख माओवादीको भाग परेको छ ।
को हुन रावल ?
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त भएका छन् । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार सुदूरपश्चिम प्रदेश एमालेको भागमा परेपछि उनी मुख्यमन्त्रीमा बनेका हुन् । उनलाई बुधबार प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरे ।
प्रदेशको दोस्रो मुख्यमन्त्रीमा नियुक्त रावल बैतडीको दशरथचन्द नगरपालिकामा वि.सं. २०२१ जेठ १६ गते जन्मिएका हुन् । बुवा दानसिंह रावल र आमा कमलादेवी रावलको कोखबाट माइला छोराका रूपमा उनको जन्म भएको हो । उनका बुबा भारतीय सेनामा कार्यरत थिए ।
बुबा भारतीय सेनामा कार्यरत भएको हुँदा रावलको बाल्यकाल भारतमै बित्यो । उनी भारतममै हुर्किए । भारतमै पढ्ने अवसर पाए । उनले भारतका विभिन्न विद्यालयहरूमा अध्ययन गरे । भारतको सिलोङ, जबलपुर ठुलीगाड हुँदै पछि उनले आफ्नो निम्न माध्यामिक शिक्षा भारतको तत्कालीन सेनाका छोराछोरीहरू पढ्ने सेन्ट्रल स्कुल (केन्द्रीय विद्यालय) बाट लिए ।
रावलले एलएलसी भने नेपालबाट दिए । उनले एलएलसी बैतडीको शाहीलेक बिरेन्द्र माध्यामिक विद्यालयबाट उत्तीर्ण गरे । त्यपछि ‘इन्टर लेभल’ पढाइ भारतको पिलिभितमा गरे र सिद्धनाथ बहुमुखी क्याम्पसबाट स्नातक तह पढ्दै गर्दा उनी राजनीतिमा प्रवेश गरे ।
उनी आफ्नै दाई रामसिंह रावलको प्रेरणाले राजनीतिमा आएका हुन् । उनका दाई तत्कालीन नेकपा पुष्पलाल समूहका केन्द्रीय सदस्य थिए । उनका दाजुले ६ वर्ष जेल जीवन काटेका थिए । रामसिंहको दुई वर्षअघि निधन भइसकेको छ । दाजुको निधन भएको दुई वर्षपछि राजेन्द्र रावल सुदूरपश्चिमको मुख्यमन्त्री बने ।
दाजुले मुक्ति मोर्चा भन्ने किताब पढ्न दिएपछि राजनीतितिर आकर्षित भएको रावल बताउँछन् । उनलाई राजनीतिमा लाग्न उत्प्रेरणा दिने अर्का व्यक्ति थिए उर्वादत्त पन्त । जसलाई उनी गुरु पनि मान्छन् । उनकै प्रेरणाले उनी अनेरास्ववियूमा आबद्ध भएका थिए ।
रावल २०३९ मा अनेरास्ववियुको सम्पर्कमा आए । २०४४ सालतिर उनी बैतडीबाट कञ्चनपुर सरे । त्यसपछि उनले शिक्षण पेशा र पढाइलाई संगसंगै निरन्तरता दिए । कञ्चनपुरमा हुँदा उनी मार्क्सवादीमा पनि आबद्ध भए । त्यसपछि मदन भण्डारी नेतृत्वको नेकपा मालेमा लागेर पार्टीको जिल्ला कमिटी सदस्य भए । यसरी काम गर्दै जाँदा उनी विद्यार्थी फाँटको इन्चार्जसमेत भए ।
क्याम्पसमा भर्ना भएपछि शिद्धनाथ बहुमुखी क्याम्पसमा अखिल पाँचौँको जिल्ला अध्यक्ष पनि भए । राजनीतीक रूपमा सक्रियता बढ्दै जाँदा उनी जिल्ला कमिटी सदस्य र पछि गएर अनेरास्ववियुको नेता भए ।
माले पार्टी नेकपा एमाले भइसकेपछि उनी पहिलो जिल्ला अधिवेशनबाट निर्वाचित भए । उनले २०५१ मा जिल्ला संगठन कमिटी प्रमुखको भूमिका निर्वाह गरे । त्यसबेला पार्टीले गाउँ जागरण अभियान चलायो । तत्कालीन महाकाली अञ्चलनका चारवटै जिल्लामा चलाइएको अभियानमा उनले एक उत्प्रेरकको भूमिका निभाए ।
रावल जिल्ला कमिटी उपसचिव र दुई कार्यकाल जिल्ला कमिटी सचिव बने । त्यसपछि अञ्चल कमिटी सदस्य हुँदै सचिवको रूपमा पनि काम गरे । केन्द्रीय कमिटी सदस्य र सुदूरपश्चिम प्रदेश कमिटी सचिव तथा डडेल्धुराको ईन्चार्जको रूपमा पनि रावल सक्रिय रहे ।
अहिले उनी पार्टी पोलिटब्युरो सदस्य हुनुका साथै सुदूरपश्चिम प्रदेशको सह–इन्चार्जको भूमिकामा छन् । जनप्रतिनिधिको हैसियतका रूपमा उनी २०५४ सालमा जिल्ला विकास समितिको उपसभापति भए ।
२०६२ ६३ को जनआन्दोलनको बेला कञ्चनपुरमा रावलले अगुवाइ गरेका थिए । महाकालीको आन्दोलनताका सार्वजनिक अपराधमा उनी जेल परेका थिए । १५ दिनसम्म जेल परे ।