पर्यटन प्रवर्द्धन गर्न नेपाली सेनाद्वारा फोटो तथा स्थानीय कला–संस्कृति प्रदर्शनीसहित दौड प्रतियोगिता

मुगु : नेपालको सबैभन्दा सुन्दर, ठूलो तथा गहिरो ताल मानिने रारा ताल तथा कर्णाली प्रदेशका धार्मिक, सांस्कृतिक र भेषभूषासम्बन्धी सम्पदाको प्रचार–प्रसार गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली सेनाले रारा तालको किनारमा फोटो तथा स्थानीय कला–संस्कृति प्रदर्शनीसहित दौड प्रतियोगिता आयोजना गरेको छ।

रारा ताल क्षेत्रमा सडक सञ्जालको पहुँच विस्तार हुनुका साथै हवाई सेवा नियमित भएपछि यहाँ घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको छ। यही अवसरलाई मध्यनजर गर्दै स्थानीय कला–संस्कृतिको संरक्षण, खेल पर्यटनको विकास तथा नेपाली सेना र स्थानीय नागरिकबीच सहकार्य र सम्बन्ध मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

रारा ताल तथा रारा राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएको हनुमानध्वज गुल्मले आयोजना गरेको कार्यक्रममा नैमती बाजा, हुड्केउली नाच, डाल नाच, खुकुरी–तरवार नाच, स्थानीय देउडा लगायतका सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको थियो। साथै नेपाली सेनाले विपद् व्यवस्थापन, कला–संस्कृति संरक्षण तथा मानवीय सेवासँग सम्बन्धित लोपोन्मुख विषय समेटिएका १४० भन्दा बढी फोटो प्रदर्शनीमा राखेको थियो।

उक्त कला तथा सांस्कृतिक फोटो प्रदर्शनी अवलोकन गर्न एक हजारभन्दा बढी स्थानीय नागरिक तथा खेलाडीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

खेल पर्यटनको विकास गर्ने उद्देश्यसहित नेपाली सेना हनुमानध्वज गुल्मले प्रत्येक वर्ष आयोजना गर्दै आएको १६ किलोमिटरको ‘रारा ट्रेल रन’ यस वर्ष छैटौं संस्करणमा पुगेको छ। प्रतियोगिताले मुगु जिल्ला तथा कर्णाली प्रदेशको खेल क्षेत्रको विकास, युवाहरूबीच एकता भावना अभिवृद्धि, सेना र नागरिकबीच सम्बन्ध सुदृढ तथा स्थानीय कला–संस्कृतिको संरक्षणमा सहयोग पुगेको हनुमानध्वज गुल्मका सेनानी खड्कबहादुर श्रेष्ठले बताए।

उनका अनुसार फोटो प्रदर्शनीमार्फत स्थानीय नागरिकले नेपाली सेनाले गरेका विभिन्न गतिविधिबारे जानकारी पाएका छन्। सेनाले सीमा सुरक्षा मात्र नभई विपद्का बेला उद्धार, नागरिकको ज्यान–धनको सुरक्षा, विकास निर्माण तथा दैवी प्रकोपका समयमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको सन्देश कार्यक्रममार्फत प्रवाह गरिएको उनले बताए।

स्थानीय समाजसेवी जयबहादुर मल्लले नेपाली सेनाले आयोजना गरेको फोटो प्रदर्शनी ज्ञानमूलक तथा सन्देशमूलक रहेको बताए। “सेनाले देशको सुरक्षा मात्र नभई विपद्, विकास निर्माण तथा नागरिक सुरक्षामा खेलेको भूमिकाबारे फोटोमार्फत जानकारी पाउन सकियो,” उनले भने।

छायाँनाथ रारा नगरपालिका–९ का स्थानीय बिर्खबहादुर रोकायाले यस्ता प्रदर्शनी रारा ताल किनारमा मात्र सीमित नराखी रारा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकसम्म पनि पुर्‍याउन आवश्यक रहेको बताए।

प्रदर्शनीमा उत्तर–पश्चिम पृतना अन्तर्गत १६ नम्बर बाहिनी तथा अन्य सैनिक इकाइहरूले विपद् व्यवस्थापन, हिमपहिरो उद्धार, सुत्केरी उद्धार, स्वास्थ्य सेवा, पर्यटन प्रवर्द्धन, संस्कृति संरक्षण तथा स्थानीय नागरिकसँगको सहकार्यमा निर्माण गरिएका पूर्वाधार विकासका गतिविधिसम्बन्धी जनचेतनामूलक फोटोहरू प्रदर्शन गरेका थिए। साथै हनुमानध्वज गुल्मको इतिहाससमेत समेटिएको नेपाली सेनाले जनाएको छ।