कर्णालीको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्मा नियुक्त

काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन् । २५ सांसदको हस्ताक्षरसहित उनले बुधबारै प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका थिए ।

आजै प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ (२) बमोजिम उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

कर्णालीमा प्रदेशसभाका ४ दलको सर्मथनमा शर्माले मुख्यमन्त्रीमा दाबी गरेका हुन । उनलाई नेकपा एमाले, राप्रपा, एकीकृत समाजवादीका २५ सांसदले समर्थन गरेका छन् ।

शर्मालाई माओवादी केन्द्रका १३, एमालेका १०, एकीकृत समाजवादी १, राप्रपाका १ गरी २५ सांसदले हस्ताक्षर गरेका थिए । कर्णालीमा एमाले र माओवादीबीच आलोपालो मुख्यमन्त्री हुने सहमति भएको छ ।

को हुन शर्मा ?

१८ भदौ २०२८ सालमा रुकुमको चौरजहारी १४ नुवाकोटमा जन्मेका थिए । शर्मा विद्यार्थी राजनीतिबाट सक्रिय राजनीतिमा आएका हुन् । उनी २०४१ सालमा आयोजित माओवादी निकट अनेरास्ववियूको क्षेत्रीय सम्मेलनमा सहभागी बनेका थिए ।

शर्माले स्कुले जीवनकै क्रममा २०४३ मा सदरमुकाम पुगेर विद्यार्थीहरूलाई संगठित बनाई राजनीतिमा आफ्नो प्रभाव बढाएका हुन् । शर्माले २०४६ मा हालका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड महामन्त्री रहेको नेकपा (मशाल) को सांगठनिक सदस्यता लिएका थिए । उनी २०४७ सालदेखि पूर्णकालीन कार्यकर्ताको रूपमा राजनीतिमा होमिएका हुन् ।

२०५१ सालमा तत्कालीन नेकपा एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेस्रो विस्तारित बैठकले पार्टीको नाम परिवर्तन गरी नेकपा माओवादी बन्यो । त्यसको १ वर्षपछि २०५२ फागुन १ गते प्रचण्ड नेतृत्वमा सशस्त्रयुद्ध सुरु भएपछि शर्माको भूमिगत राजनीति सुरु गरेका थिए ।

२०५० सालमा महतको फूलबारी जङ्गलमा ४५ दिने सशस्त्र तालिम गरेर जनयुद्धुका लागि फौजी आधार तयार गर्नमा शर्माले महत्त्वपूर्ण भूमिका खेलेका थिए । सशस्त्र युद्धको आधार तयार गर्न रूकुममा सञ्चालित ग्रामीण संघर्षका क्रममा भएका स्थानीय थुप्रै जनसंघर्षका कामको नेतृत्व लिँदै जनयुद्धपूर्व नै पूर्णकालीन राजनीतिमा होमिएका शर्माले २०५२ फागुन १ गते रूकुमको राडी प्रहरी चौकी कब्जाको नेतृत्व गरेका थिए ।

२०५४ मा साविक कर्णालीका जिल्लाहरूमा विभिन्न सैन्य कमाण्डको नेतृत्व सम्हालेका शर्मा २०५८ पछि मुगु, डोल्पा र २०६१ को शान्ति प्रक्रियापछि पनि दैलेखमा रहेर काम गरेका थिए । त्यतिबेला दैलेखमा माओवादीविरूद्ध प्रतिकार अभियान चलाइएको थियो ।

सशस्त्र युद्धको विस्तारका लागि शर्माले २०५४ सालदेखि साविक कर्णालीमा सरूवा भएर विभिन्न कमाण्डको नेतृत्व गरे । सो क्रममा उनले जुम्ला, कालिकोट, मुगु, डोल्पा, हुम्ला, दैलेखलगायका जिल्लामा विभिन्न समयमा जिल्ला सेक्रेटरी तथा जिल्ला ईन्चार्जका रूपमा नेतृत्वदायी भूमिका खेल्दै कर्णालीमा सशस्त्र युद्धका लागि आधार इलाका निर्माणमा महत्त्वपूर्ण भूमिका शर्माले खेलेका छन् ।

तत्कालीन विद्रोही पक्ष र राज्य पक्षबीच विस्तृत शान्ति पक्रियामा हस्ताक्षर हुँदा शर्मा थरुहट राज्य दाङ, बाँके, बर्दिया र कैलाली, कन्चनपुरको प्रमुख थिए । २०६७ सालपछि नेवाः राज्यमा रहेर काम गरेका उनी केन्द्रीय प्रचार विभाग, पार्टीको जिल्ला कमिटी इन्चार्ज, प्रदेशको संस्थापन अध्यक्ष, २०७४ मा जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख हुँदै कर्णालीको तेस्रो मुख्यमन्त्रीको बनेका हुन् । शर्माले कक्षा १० सम्मको औपचारिक शिक्षा पूरा गरेका छन् । उनी पार्टीमा आर्ट नामले परिचित छन् ।

सम्बन्धित समाचार