जुम्ला ः सिंजा गाउँपालिका–६ का किसान दलबहादुर रोकाया स्याउका बगैँचा ब्यवस्थापनमा ब्यस्त छन ।यतिवेला स्याउ बोटको काँटछाँट तथा बगैँचा ब्यवस्थापन गरेको खण्डमा स्याउबाट राम्रो आम्दानी हुने बताउँछन ।
यतिवेला स्याउको बगैंचा व्यवस्थापनमा किसानले ध्यान नदिएको खण्डमा स्याउका बोटमा र गुणस्तरीय फल लाग्ने रोकाया बताउछन । उनका अनुसार जुम्लाका स्याउ किसानका लागी बाँझो जग्गामा समेत नयाँ बिरूवा लगाउने समय सूरु हुदैछ । पुसको पहिलो सातादेखि माघको अन्तिम हप्तासम्म जुम्लाका किसानलाई स्याउ बगैंचा व्यवस्थापनमा भ्याइनभ्याई हुने गर्दछ।
सिंजा गाउँपालिका–६ का वडाध्यक्ष लालबहादुर बुढाले बगैंचा व्यवस्थापन कार्यका साथै खेर गएका र बाँझो जग्गामा समेत नयाँ बिरूवा लगाउने समय समेत सुरू भइरहेको बताए । त्यस्तै जुम्लाका ८ वटै स्थानीय तहका स्याउ किसान यतिखेर खेतबारीको स्याउ बगैंचामा स्याउ कटिङमा लागि परेको स्थानीय तहका कृषि शाखा हरुले बताएका छन ।
त्यस्तै धेरैजसोलाई प्राविधिक ज्ञान नहुँदा बगैंचा काँटछाँट तथा व्यवस्थापन किसानले राम्रोसँग नगरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई जुम्लाका निमित्त कार्यालय प्रमुख खेमराज शाहीले बताए।उनले भने, जुम्लाका कृषकलाई यतिखेर स्याउ बगैंचा व्यवस्थापनको चटारो चलिरहेको छ।
स्याउलाई गुणस्तरीय बनाउनका लागि कृषि विशेषज्ञ प्रविधिक टोली र स्याउ सुपर जोन कार्यालयको टोलीले यहाँका स्याउ किसानका बगैंचामै पुगेर स्याउ बगैंचा काटँछाँटदेखि स्याउ व्यवस्थापन गरिने उनले बताए ।
त्यस्तै बिरूवा लगाउन पहिले खाडल खन्दादेखि नै ध्यान दिन कृषि विज्ञले सुझाव दिएका छन्।खाडल खन्दा एउटादेखि अर्काे स्याउको बिरूवासम्म ६ मिटरको दूरी आवश्यक हुने कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीले बताए ।
खाडल खन्दा निस्किएको माथिल्लो सतहको माटोमा २० केजी कम्पोष्ट, रासायनिक मल र माटो उपचार गर्ने विषादी राम्रोसँग मिसाएर बिरूवा लगाउन उपयुक्त हुन्छ ।दाना टिपेर पात झरेर रित्ता बनेका स्याउका बोटबाट अनावश्यक हाँगा हटाउने, जरामा मल राख्ने, गोडमेल र सिंचाइ गर्ने काममा कृषक जुटेका हुन्।
भदौअसोजमा स्याउको दाना टिप्ने गरिन्छ। फूल खेल्नु र हिउँ पर्नुअघि नै बगैंचा व्यवस्थापन गर्न जुटेका हुन्।
हिउँ पर्ने समयमा स्याउ बगैंचाको उचित व्यवस्थापन गर्दा उत्पादन र गुणस्तर सुधार गर्न सकिन्छ। पुस र माघमा कृषकले अनावश्यक हाँगा हटाउने गर्छन्। रोग किरा फैलिन नदिन सर्वो आयल र बोडो पेष्ट लगाउने गर्छन्। जुम्लाको प्रमुख निकासीयोग्य कृषिउपज स्याउ हो।जरा वरपरको झार हटाएर खन्ने र भेडा, च्याङ्ग्रा, गाई, गोरुको मल हाल्ने गरिन्छ ।
कृषि प्राविधिकको सल्लाह अनुसार स्याउका बिरूवा रोप्दा र समयमै बगैंचा व्यस्थापनमा गरे गुणस्तरीय फल र बगैंचा राम्रो देखिने गुठिचौर गाउँपालिका कृषि शाखाका कृषि प्राविधिक उमेश न्यौपानेले बताए। उनल भने, फागुन महिनामा स्याउको पालुवा पलाउने भएकाले त्योभन्दा अगाडि नै स्याउका बिरूवा रोपि सक्नुपर्ने बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन, कृषि विकास कार्यलय र स्थानीय तहको कृषि शाखाले कृषकलाई बगैंचा व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गर्दै आइरहेका छन्।
त्यस्तै स्याउका बिरूवा रोप्दा पाकेको गोठेमललाई माटोसँग मिसाएर हाल्दा राम्रो हुनेदेखि स्याउखेतीका लागि सकेसम्म दक्षिणी मोहडा भएको पारिलो जग्गा उपयुक्त हुने कृषि विकास कार्यालय जुम्लाका प्राविधिक सहायक लक्षिराम महतले बताए ।
कृषि विकास कार्यालय जुम्लाको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८÷७९ मा ६ हजार १ सय ७० मेट्रिक टन स्याउ उत्पादन भएको थियो। भने आर्थिक वर्ष २०७७÷७८ मा ६ हजार २ सय १० मेट्रिक टन स्याउ उत्पादन भएको कार्यालयले जनाएको छ।