आज नागपञ्चमी

नागपञ्चमी पर्वमा घरघरमा नागको तस्वीर टाँसी विधिपूर्वक पूजाआजा गरिँदैछ । नेपाली समाजमा नागलाई देवता मानेर सम्मान गरिनुका साथै कतिपय जलाशयमा नागपूजा गर्नेको मेला नै लाग्ने गर्दछ ।

श्रावण शुक्लपञ्चमीका दिन ब्रह्मासँग विषधर नागको सम्वाद भएको पौराणिक प्रसंगका आधारमा यस तिथिलाई नागपञ्चमी पर्व मानिएको हो ।
वराहपुराणका अनुसार नागराजले आफ्ना समस्याबारे ब्रह्मासँग संवादगरेपछि विषधर नागहरु शान्तभएको सम्झनामा यो पर्व मनाउने गरिन्छ । नागपञ्चमीका दिन घरघरमा नागको तस्वीर बनाई द्वारमाथि टाँसेर पूजा गरिन्छ । नागका अष्टकुल अनन्त वासुकि पद्म,महापदम,तक्षक,कुलीर,कर्कोटक शंख नागको चित्र ढोकामाथि टाँसेर दुईतिर कपासको पिउरी सजाई नाग पूजा गरिन्छ । घरमा नाग पूजा गर्दा दूधदही,अक्षता,दुबो,लावा फलफूल चढाई दूध वा खीरको नैवेद्य लगाउने चलन छ ।

यसरी नागको पूजा गर्नाले घरमा चट्याङ वज्रपात नपर्ने,अग्निभय र सर्पदंसको डर नहुने र शरीरमा रोगव्याधि नलाग्ने धार्मिक मान्यता छ ।

ब्रह्मवैवर्त पुराणका अनुसार भगवान श्रीकृष्णको पदचिह्न कालयि नागले शिरमा धारण गर्ने भएकाले नागलाई मार्न हुँदैन भन्ने विश्वास छ ।

नागपूजा गरेपछि नागपञ्चमीका दिन खेतबारीमा खनजोत गर्नु हुँदैन भन्ने गरिन्छ । खनजोत गरेमा जमिनमुनि बसेका नाग काटिनसक्ने र त्यसो भएमा पाप लाग्ने बताइन्छ । नागको नेपाली समाजमा नागपञ्चमीदेखि हिउँदे प्रभाव देखिने र श्रीपञ्चमीदेखि वर्षे याम शुरु हुने लोककथन प्रचलित छ ।

नाग पञ्चमीका दिन जलमूल तथा ठूला जलाशयमा पनि नागको पूजा गर्ने परम्परा छ । जलमूल, इनार कुवा, पोखरी धारामा नागको निवास मानेर नागपूजा गर्ने परम्परा छ । यस्ता जलाशयमा कपास वा पीठाको नाग बनाई त्यसमा तीलको कत्ला, मासको आँखा र दुवाको जिब्रो बनाउने चलन छ । स्पर्शक्षमतामा तेज मानिने सरिसृप प्राणी नागका दुईवटा जिब्रा हुन्छन् ।

नागपञ्चमीका दिन काठमाडौको केन्द्रस्थलमा पर्ने नक्साल नागपोखरीमा नागको विशेष पूजाआजा गरिन्छ । पोखरीको बीचमा रहेको नागको अग्लो प्रतिमामा नयाँ वस्त्र पहिराई शिरबाट दूधले नुहाइदिएर विधिपूर्वक नागको पूजा गर्ने परम्परा छ । यहाँ नागपञ्चमीका दिन नागपूजा गर्नेको मेला नै लाग्ने गर्दछ ।

काठमाडौकै कीर्तिपुर नगरपालिकामा पर्ने चोभार तल रहेको टौदहमा पनि नाग पञ्चमीमा नागपूजा गर्नेको भीड लाग्छ । दहको दक्षिणतिर रहेको धारामा स्नान गरी नजिकै रहेको नाग प्रतिमामा नाग पूजा गरिन्छ । यो दह नागराज कर्कोटकको निवास मानिन्छ । पाटनमा मत्स्येन्द्रनाथको रथयात्रा गर्ने बेलामा यहाँ नागलाई विधिपूर्वक निमन्त्रणा गर्ने चलन छ ।

यसै गरी ललितपुरको धापाखेलस्थित नागदहमा पनि नागपञ्चमीमा नागपूजा गर्नेको भीड नै लाग्दछ । यस दहमा वासुकि नाग निवास गर्ने बताइन्छ । दहको उत्तरपट्टि जलमाथि वासकि नागको मन्दिर पनि बनाइएको छ । दहको पश्चिमी किनारमा पनि एउटा मन्दिर बनाइएको छ । दह निकै सुन्दर देखिन्छ । अझ दह किनारमा फुल्ने श्वेत कमलका फूलले दहलाई मनमोहक बनाएका छन् । तालको वरिपरि खेतको हरियाली र विभिन्न वृक्ष वनस्पति पनि देखिन्छ । दहको किनारबाट मनोरम प्रकृतिले सजिएको धापाखेल नागदहमा वासुकि नाग बस्ने भएकाले दह वरिपरि फोहर फाल्न नहुने, पौडी खेल्ने होहल्ला गर्ने दहका वस्तु घर लिएर जाने गर्न नहुने मान्यता छ ।