हिमाली जिल्लामा लामखुट्टेको बिगबिगी
मुगु :
हिमाली जिल्ला मुगुमा लामखुट्टेको बिगबिगी बढ्दै गएको छ । यातायातको सुविधासँगै गाउँगाउँमा लामखुट्टे भित्रिएका हुन् । चिसो हावापानीमा समेत लामखुट्टे फैलिएपछि जिल्लामा मलेरियाको जोखिम बढेको छ ।

छायाँनाथरारा नगरपालिका २ की लक्ष्मी रावलले लामखुट्टेको बिगबिगी बढदै गएपछि विभिन्न स्वास्थ्य समस्या देखिन थालेको बताइन्। ‘बिहानदेखि साँझसम्म कोठामा धुप जलाउने गरेका छौं,’ उनले भनिन्, ‘साउन लागेपछि जता पनि लामखुट्टे देखिन थालेका छन्, नष्ट गर्न विभिन्न उपाय गरियो तर सफल भएनौं।’
गमगढी बजारसहित कार्कीबाडा, ढुम, छत्यालबाडा, भामबाडा, रुघालगायत बस्तीमा लामखुट्टेको संख्या बढेपछि स्थानीय त्रसित छन्। लामखुट्टेकै डरले रातभर कोठामा आगो बालेर धूवाँ निकाली सुत्ने गरेको गमगढी नयाँसडककी पान्डबी शाहीले बताइन्।
उनका अनुसार वर्षासँगै लामखुट्टेको संख्या बढदै गएको छ। दिउँसोसमेत लामखुट्टेले टोक्ने गरेको उनी बताउँछिन्। ‘बालबालिकालाई कुनै स्वास्थ्य समस्या होला भनेर त्रसित हुने गरेका छौं,’ उनले भनिन्, ‘बजार क्षेत्रमा झुल नलगाई सुत्नै समस्या छ।’
चिसो हावापानी रहेको सोरु गाउँपालिकाको सीप, भिई, फोतु, लिब्रुलगायत गाउँमा पनि लामखुट्टेको बिगबिगी छ। घरको ढोकामा धान भुसको धूवाँ बालेर लामखुट्टे धपाउने गरेको स्थानीयको भनाइ छ। जिल्लाका अधिकांश व्यापारिक केन्द्रमा लामखुट्टे नष्ट गर्ने विषादी र धुप नपाउँदा समस्या छ।
खत्याड गाउँपालिकाको रिघा, आम, रातापानी, सुकाढिकलगायत बस्तीमा २०७४ सालदेखि १ सय ७३ जनामा मलेरियाको लक्षण देखिएको थियो। लामखुट्टेको टोकाइकै कारण हिमाली जिल्ला मलेरियाको जोखिममा परेको स्वास्थ्यकर्मीको भनाइ छ।
स्वास्थ्य कार्यालयका अनुसार धैनकोट, भिई, रिघा, सुकाढिक, रातापानी, तारापानीलगायत १० बस्ती मलेरियाको उच्च जोखिममा छन्। ‘लामखुट्टेले टोक्दैमा मलेरिया रोग लाग्दैन, तर सावधानी अपनाउन भने जरुरी छ,’ स्वास्थ्य कार्यालयका मलेरिया रोग फोकलपर्सन बलीबहादुर बुढाले भने, ‘लामखुट्टे बढदै गएपछि जिल्लाका धेरै बस्ती मलेरियाको जोखिममा छन्।’
जलवायु परिर्वतनको असरले तराईका लामखुट्टे हिमाली जिल्लामा सरेको सरोकारवाला बताउँछन्। जिल्लामा लामखुट्टेको बिगबिगी हुन थालेपछि स्वास्थ्य कार्यालयले उच्च सतर्कता अपनाएको जनाएको छ। बेंसीका बस्तीमा स्वास्थ्यकर्मीलाई तालिम, लामखुट्टे देखा परेको बस्तीमा किटनाशक औषधि वितरण, झुल वितरणलगायत कार्यक्रम सुरु गर्न लागिएको कार्यालयले जनाएको छ।
‘यो वर्ष मलेरियाका बिरामी देखा परेका छैनन्,’ बुढाले भने, ‘तर हामीले सतर्कताका लागि जनचेतनामूलक कार्यक्रम सुरु गरेका छौं।’ स्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षमा मलेरिया रोग नियन्त्रणका लागि ४ लाख रुपैयाँ विनियोजन गरिएको छ।








