कर्णाली क्षेत्रको विकासका लागि सरकार सधैं तयार : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको नीति राम्रो गर्ने, राम्रो बाहेक नगर्ने रहेको बताए ।

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका नेता तथा कार्यकर्तालाई प्रधानमन्त्री निवास बालुवाटारमा निर्देशन दिँदै उनले जनतालाई विश्वासमा लिएर सकारात्मक काम गर्नु नै सरकारको प्रमुख कर्तव्य भएको बताए।

प्रधानमन्त्रीले राम्रो काम गरेर जनताको विश्वास जित्न जरुरी रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले चाहे असम्भव भन्ने कुरा  केही नभएको बताए। उनले भने, ‘दुःख, मेहनत, त्याग र तपस्या जेजे गरेर हुन्छ राम्रो गर्नु पर्दछ । आफूले गरेको राम्रो कामको प्रचार नगरेर पनि हामीले दुःख पाएको हो ।

मध्यपहाडी लोकमार्गदेखि उत्तर–दक्षिण कोरिडोर म पहिलो पटक प्रधानमन्त्री भएपछि प्रस्तावित गरेका परियोजना हुन् । अहिले नेपाल त्यतै हिँडिरहेको छ । तर ती माओवादीले गरेका परियोजना भनेर स्थापित भने भएका छैनन् ।’

कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने र समाजवादी फोरम बनाउने विषयमा छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

उनले कर्णालीमा बन्ने आगामी सरकारले कर्णालीको आर्थिक विकासमा गति दिने, जनतासँग जीवन्त सम्बन्ध बनाउने र जनताको विश्वास जित्ने काममा लाग्नुपर्ने धारणा राखे ।

सम्बन्धित समाचार