प्रधानमन्त्री बनेर तेस्रोपटक सिंहदरबार छिर्दै प्रचण्ड

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । आइतबार राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेपछि यससँगै उनी तेस्रोपटक प्रधानमन्त्री बनेर सिंहदरबार छिर्न लागेका हुन् ।

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टीलगायतको समर्थन प्राप्त गरेका प्रचण्डलाई राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रपति भण्डारीले प्रचण्डलाई नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । यसअघि राष्ट्रपति भण्डारीले आज साँझ ५ बजेसम्म प्रधानमन्त्रीको दाबी गर्न दलहरूलाई आह्वान गरेकी थिइन् ।

सत्ता गठबन्धन दल नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद नछाडेपछि प्रचण्ड एमालेको समर्थन खोज्न बालकोट पुगेका थिए । त्यसपछि एमाले, रास्वपालगायतका दलको समर्थन जुटाएर प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरेका हुन् ।

यससँगै प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री भएका छन् । यसअघि उनी २०६५ भदौ र २०७३ साउनमा प्रधानमन्त्री बनेका थिए ।

प्रचण्डले १६९ सांसदको समर्थन पाएका छन् । प्रचण्डलाई नेकपा एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ र स्वतन्त्र तीन सांसदले समर्थन गरेका छन् ।

तीन पटक प्रधानमन्त्री

प्रचण्ड पहिले पटक २०६४ सालको पहिलो संविधान सभा निर्वाचनपछि गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएका थिए । माओवादी शान्ति प्रक्रियामा आएपछिको पहिलो पटक प्रचण्ड प्रधानमन्त्री हुन सफल भएका थिए । तत्कालीन प्रधानसेनापति रुकमाङ्गत कटुवाल काण्डमा प्रचण्डले नौ महिना पुग्दा नपुग्दै राजीनामा दिन बाध्य भए । वि।सं। २०७२ साल असोज ३ गते नेपालको संविधान घोषणा भएपछि प्रचण्ड दोस्रो कार्यकाल प्रधानमन्त्री हुन सफल भएका थिए । २०७३ साल साउन १९ गतेदेखि २०७४ साल जेठ २३ गते झण्डै १० महिना प्रधानमन्त्री हुने अवसर पाएका थिए । पहिलो संविधान सभा चुनावमा रोल्पा २ र काठमाडौँ १० बाट प्रत्यक्ष निर्वाचित हुन सफल भए । दोस्रो संविधान सभा चुनावमा काठमाडौँ १० बाट पराजित भए भने सिराहा–५ बाट निर्वाचित हुन सफल भए । २०७४ सालको चुनावमा चितवन ३ बाट र यस निर्वाचनमा गोरखा २ बाट निर्वाचित भएका हुन् ।

सम्बन्धित समाचार