काठमाडौं । महिला हिंसाविरुद्धको १६ दिने अभियान जारी रहेकै बेला सुर्खेतमा श्रीमानद्धार श्रीमतिको हत्या भएपछि सबैको ध्यान खिचेको छ । मंगलबार सुर्खेतको पञ्चपुरी नगरपालिका– ३, तोक्माका ३८ वर्षीय अम्मरबहादुर आलेले प्लास्टिकको झोलामा हत्या गरेकी श्रीमतिको टाउको बोकेर हिँड्दै गरेको फोटो सामाजिक सञ्जालमा भाइरल बन्यो ।
स्थानीयले अस्वाभाविक तवरको झोला देखेपछि प्रहरीलाई खबर गरे । त्यसलगत्तै इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरी टोलीले आलेलाई पक्राउ गरेपछि उक्त झोलाको वास्तविकता खुल्न पुग्यो । आलेले बोकेको प्लास्टिक झोलामा अरु केही नभई आफ्नै ३० वर्षिया श्रीमती मीना आलेमगरको टाउको रहेछ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता एवम् डीएसपी सुरज कार्कीका अनुसार आलेले हँसिया ९आँशी० ले आफ्नै घरको दोस्रो तलामा घाँटी रेटेर निर्मम हत्या गरेका रहेछन् ।
श्रीमतीको हत्या पछि टाउको प्लास्टिकको झोलामा राखेर इलाका प्रहरी कार्यालय बाबियाचौर जाँदै गर्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको कार्कीको भनाइ छ । ‘ऊ प्रहरी चौकी जाँदै थिएँ भन्छ, तर प्रहरीले बाटोबाटै पक्राउ गरेर राति २ बजेतिर नै जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान गरिरहेको छ,’ डीएसपी कार्कीले भने । मीनाको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल सुर्खेतमा राखिएको डीएसपी कार्कीको भनाइ छ ।
के हो घटना ?
अम्मरबहादुर आले वैदेशिक रोजगारीका लागि दुवई र मलेसियामा झण्डै १० वर्ष बिताएका थिए । उनी गत वैशाखमा मात्रै भारतबाट घर फर्किएका थिए । खाडीमा रहँदा राम्रै कमाइ गर्ने आलेले कमाएको सबै पैसा घर पठाउँथे । लामो समय खाडीमा बिताएका उनी जब घर फर्किए, अनि सुरु भयो सम्पत्तिको विषय । आफूले दुस्ख गरेर कमाएको पैसा हिनामिना भएको भन्दै आलेले बारम्बार कहाँ के गरिस् भनेर सोधखोज गर्न थालेपछि उनीहरूबीच झगडा भइरहन्थ्यो ।
आलेको प्रश्नमा मीनाले घर खर्चमा लागेको भन्दै टार्थिन् । तर, त्यतिका वर्ष विदेशमा बसेर कमाएको रकम घर खर्चमा मात्रै कसरी सकियो रु आलेको प्रश्न यही हुन्थ्यो ।
‘झगडाको सुरुवात यहीँबाट भएको देखिन्छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘त्यसैमा उनीहरूबीच दूरी बढेको रहेछ,’ उनले भने, ‘अम्मरसँग बस्न नसक्ने भन्दै बारम्बार डिभोर्स दिन्छु भनेर मानसिक टर्चर दिने रहिछिन्, उक्त टर्चरकै कारण उक्त घटना भएको बयानका क्रममा खुलेको छ ।’
अम्मरले विदेशबाट पठाएको पैसाको हिसाबकिताबबारे झगडा हुने भए पनि उनले कति पैसा पठाएका थिए भन्नेबारे यकिन भने हुन नसकेको प्रहरीले जनाएको छ । घटना घट्नुभन्दा आधा घण्टाअघिसम्म अर्थात् मंगलबार दिउँसो ३ बजे घरको आगनमा अम्मरबहादुरकी आमा, अम्मर र मीना घाम तापेर बसेका थिए ।
‘म नुहाउन भनी कपडा समातेर धारातिर गएँ र धारा पुग्नुभन्दा पहिला म माथिल्लो घरमा बसेको थिएँ, अम्मरको साहिँली आमा र भाउजू पर्नेहरू पनि थिए,’ अम्मरकी आमाको भनाइ उद्धृत गर्दै वडाध्यक्ष बलबहादुर रोकायले भने, ‘अनि भाउजू नाता पर्नेले के बौलाहाजस्तो हिन्छौ भनेर अम्मरलाई सोधिन् ? उसले यो हेर्नुस् भनेर प्लास्टिकको झोलामा टाउको देखाउँदा आमा बेहोस् हुनुभए छ । त्यसपछि अम्मर सिधै चौकीमा गएछ ।’
घटनाका बारेमा छिमेकीलाई कुनै पनि जानकारी नभएको वडाध्यक्ष रोकायको भनाइ छ ।