केन्द्रीय सरकारका बहालवाला ६ मन्त्रीले हारे चुनाव

काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउन केहि क्षेत्र बाँकी छन । अहिलेसम्म १५७ निर्वाचन क्षेत्रको परिणाम आइसकेको छ भने अब ९ क्षेत्रको आउन बाँकी छ ।

हालसम्म सार्वजनिक भएको नतिजाअनुसार संघीय सरकारका बहालवाला ६ मन्त्री चुनावमा पराजित भएका छन् । पराजित हुनेमा गृहमन्त्री बालकृष्ण खाँण, खानेपानीमन्त्री उमाकान्त चौधरी, ऊर्जामन्त्री पम्फा भुसाल, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज र राज्यमन्त्री उमेश श्रेष्ठ छन् ।

रूपन्देही ३ मा गृहमन्त्री खाँणलाई हराउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक बोहरा निर्वाचित भएका छन् । बोहराले ३६ हजार ६४८ मत ल्याउँदा खाणले ३४ हजार ४ मत ल्याएका थिए ।

यस्तै नेकपा माओवादी केन्द्रकी नेतृ एवं ऊर्जामन्त्री पम्फा भुसाललाई ललितपुर ३ मा डा.तोसिमा कार्कीले पराजित गरिन् । कार्की राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार हुन् । कार्कीले ३१ हजार १३६ मत ल्याउँदा भुसाल ८ हजार ७६९ मतसहित तेस्रो स्थानमा सीमित हुन पुगिन् ।

एकीकृत समाजवादीका नेता एवं पर्यटनमन्त्री जीवनराम श्रेष्ठ काठमाडौं ८ बाट पराजित भए । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले पराजित गरेका हुन् । विराजभक्तले १० हजार १०५ मत ल्याउँदा मन्त्री श्रेष्ठले ४ हजार १७७ मत मात्रै ल्याएका थिए ।

यसैगरी माओवादी नेता एवं खेलकुदमन्त्री महेश्वर गहतराज पनि पराजित भएका छन् । बाँके १ बाट उम्मेदवारी दिएका गहतराजलाई एमालेका सूर्य ढकालले ५ हजार ३९४ मतान्तरले पराजित गरेका हुन् । ढकालले २५ हजार २६ र मन्त्री गहतराजले १९ हजार ६३२ मत प्राप्त गरेका थिए ।

कांग्रेस सहमहामन्त्री एवं खानेपानीमन्त्री उमाकान्त चौधरी बारा १ बाट पराजित भएका छन् । उनलाई एमालेका अच्युतप्रसाद मैनालीले पराजित गरेका हुन् । मैनालीले ३९ हजार १९५ मत ल्याउँदा चौधरीले ३० हजार ५६ मत ल्याएका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का राज्यमन्त्री उमेश श्रेष्ठ चितवन २ बाट पराजित भएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पराजित गरेका हुन् । लामिछानेले ४९ हजार २६४ मत ल्याउँदा श्रेष्ठले १४ हजार ९८३ मत प्राप्त गरेका थिए ।

सम्बन्धित समाचार