काठमाडौं । मुस्ताङमा नेपाली कांग्रेसले क्लिन स्वीप गरेको छ । एक संघ र दुई प्रदेश सभा रहेको मुस्ताङमा कांग्रेसका युवा नेताहरु विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवारलाई हराएको छ ।
एमालेले बलियो मानिएको मुस्ताङमा गठबन्धनका तर्फबाट कांग्रेसले जितेको छ ।
प्रतिनिधिसभामा कांग्रेसका योगेश गौचन थकाली, प्रदेशसभा १ मा नम्डुगुरुङ र प्रदेशसभा २ मा विकल शेरचन विजयी भएका छन् ।
प्रतिनिधिसभामा गौचनले ३ हजार ९९२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत प्राप्त गरे । गौचनले तुलाचन ९१४ मतले पराजित भएका हुन् ।
मुस्ताङ प्रदेशसभा १ मा उम्मेदवार रहेका एमालेका इन्द्रधारा विष्ट नेपाली कांग्रेसका नम्डु गुरुङसँग २५५ मतान्तरले पराजित भए । नम्डुले १ हजार ४८ र विष्टले ७ सय ९३ मत पाएको निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ । यी दुई उम्मेदवारको मतान्तर २५५ रह्यो ।
प्रदेशसभा २ मा कांग्रेस उम्मेदवार विकल शेरचन २ हजार ७२३ मत प्राप्त गरी विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका चन्द्रमोहन गौचनले २ हजार ५६५ मत पाए । १५८ मतले गौचन पराजित भएका हुन् ।
पराजित भएका एमालेका तीनै उम्मेदवार निवर्तमान सांसद हुन् । २०७४ सालको चुनावमा तत्कालीन एमाले(माओवादी वाम गठबन्धनले प्रतिनिधिसभा र दुई वटै प्रदेशसभा क्षेत्र जितेको थियो ।
स्थानीय तह चुनावमा पाँचमध्ये चार पालिका जितेकाले यसपटक पनि २०७४ सालकै जस्तै तीनवटै सिट जित्ने एमालेको अपेक्षा थियो । तर, मतदाताले योपटक कांग्रेस उम्मेदवार रोजेका हुन् ।
मुस्ताङबाट प्रतिनिधिसभा र प्रदेशसभा जितेका तीनै जना कांग्रेस उम्मेदवार ४० वर्षमुनिका हुन् । प्रतिनिधिसभामा विजयी योगेश २९, प्रदेशसभा १ मा विजयी नम्डु ३३ र प्रदेशसभा २ मा विजयी विकल ३९ वर्षका हुन् । एमालेका तीनै जना उम्मेदवार ५० वर्षमाथिका थिए ।